
मगर समुदायको कला संस्कृति र ऐतिहासिक परम्परालाई संरक्षण गर्नका लागि पर्वतमा मगर संग्र्रहालय निर्माण गर्न थालिएको छ । पुन युवा क्लबको अगुवाईमा कुश्मास्थित दुर्लुङचोक नजिकै मध्यपहाडी राजमार्गको आडैमा संग्रहालय बनाउन शुरू गरिएको हो । संग्रहालय भवनको बुधवार कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले शिलान्यास गरे ।
संग्रहालय निर्माण गर्नका लागि क्लबले अघिल्ला दुई वर्ष लगातार दुई पटकसम्म मगर महोत्सवको आयोजना गरेको छ भने यस पटकको तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेको छ । सोही रकम र बाँकी विभिन्न सहयोगदाताबाट संकलन गरेर झण्डै रु एक करोडको लागतमा निर्माण गरिने युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए ।
मगर जातीको कला, कौशल, प्रबर्द्धनलगायत कुरामा नेतृत्वदायी भूमिका खेल्दै आएको पुन क्लबले आफूसँग भएको बजेटबाट भवन निर्माणको काम शुरु गरेको क्लबका अध्यक्ष पुनले बताए । मगर समुदायलगायत अन्य जनजातिका ऐतिहासिक तथा पुरातात्विक वस्तुको नमूना संकलन, ऐतिहासिक पाठ्यपुस्तक, धर्म संस्कृति र भाषाको संरक्षण, कला संस्कृति, रीतिरिवाज तथा चालचलन, मगर समुदायका खानाका परिकारलगायत सबैखाले विषयलाई संग्रहालयमा समेटिने जनाइएको छ ।
सबै जातजातिका भाषा, वेषभूषा, उनीहरूले प्रयोग गर्ने सामग्री, दैनिकी झल्किने चित्रलगायतका वस्तु राख्ने गरीसमेत तयारी गरिएको छ । रु २५ लाखबाट निर्माण गर्न थालिएको र काम शुरु गरेपछि विस्तारै सहयोग प्राप्त हुने क्लबले जनाएको छ । कुश्मा नगर प्रमुख जोशीले मगर समुदायका नेतृत्वमा संग्रहालय बन्ने भए पनि सबै जातजातिका पुरातात्विक महत्व बोकेका बस्तु रहने बताए ।
उपप्रमुख स्वस्थानी रिजालले ऐतिहासिक महत्वका वस्तुको संरक्षणमा संग्रहालय महत्वपूर्ण हुने बताए ।
यही मितिमा निर्माणको पूरा हुन्छ भन्ने यकिन नभएको भवन निर्माण समितिका संयोजक गुमबहादुर पुनले बताए । रकम अभाव हुन नदिन सरकारी निकायमा पहल गर्नेदेखि आफूहरूले फेरि पनि देउसी भैलो तथा मगर महोत्सवलाई निरन्तरता दिने उनको भनाइ छ ।