०१ असार २०८३, सोमबार

म्युजिक भिडियो सुटिङअघि निर्देशकको कस्तो तयारी ?

मंसिर १७, २०७९
म्युजिक भिडियो सुटिङअघि निर्देशकको कस्तो तयारी ?
म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीलाई सिकाउँदै निर्देशक काजिश श्रेष्ठ

सांगीतिक क्षेत्रमा यतिबेलाका चल्तापुर्जा निर्देशक मानिन्छन् काजिश श्रेष्ठ । ५०० भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका श्रेष्ठका ‘धनगढीको बसमा’, ‘सुर्ति माड्दै माड्दै’, ‘पछ्यौरी लिसियो’, ‘कल्ले बोलायो’, ‘बाजा बजाउँदै’ लगायतका गीत करोड क्लबमा प्रवेश गरेका छन् ।

एकपछि अर्को सफल म्युजिक भिडियो दिइरहेका निर्देशक श्रेष्ठ कसरी गर्छन् सुटिङअघिको तयारी ? उनकै शब्दमा –

लगानी, कलाकारबारे मन्थन

निर्देशनका लागि कुरा आएपछि गीत ध्यान दिएर सुन्छु । गीत सुनेपछि लगानी र कलाकारहरूबारे छलफल हुन्छ । कति लगानी हुने ? कलाकारहरू को–को राख्ने भन्नेबारे सल्लाह हुन्छ । कोरस डान्सरहरू कति राख्ने ? कहाँ छायांकन गर्ने ? ड्रेसअप, सेट डिजाइन लगायतका विषयमा पनि छलफल हुन्छ । 

१०–१२ पटकसम्म गीत सुन्छु

आफूले निर्देशन गर्ने तय भएपछि गीत निरन्तर सुनिरहन्छु । १–२ पटक मात्रै होइन, प्रायः गीतहरू १०–१२ पटकसम्म सुन्छु । म बाइकमा यात्रा गर्दा समेत कानमा हेडफोन लगाएर गीत पटक–पटक सुन्ने गरेको छु । 

भिडियोको कन्सेप्ट चेन्ज भइरहेको हुन्छ

धेरैपटक एउटै गीत सुनेर होला, अब यो शब्द/यो म्युजिक आउँछ भन्ने कुरा दिमागमा ‘सेट’ भइसकेको हुन्छ । गीत सुनिरहँदा आफैं दिमागमा भिडियोको ‘कन्सेप्ट’ बनिसकेको हुन्छ । यद्यपि फेरि गीत सुन्दा अर्को नयाँ कन्सेप्ट आउँछ । दिमागमा कन्सेप्टहरू परिवर्तन भइरहेको हुन्छ । अन्ततः गीतको भावअनुसार एउटा कन्सेप्ट सेट गरेर त्यो नोटबूकमा टिपोट गर्छु । 

कतिपयमा रेकर्डिङदेखि सँगै हुन्छु

कुनै–कुनै गीतहरूको सन्दर्भमा भने रेकर्डिङको समयदेखि नै मसँगै हुन्छु । गायक/गायिका एवं लगानीकर्ताहरूको आग्रहमा रेकर्डिङदेखि सँगै रहेर भिडियोका लागि ‘होमवर्क’ थालिएको हुन्छ । १ महिनाअघि सार्वजनिक ‘धनगढीको बसमा लाहुरे झोलाको’ त्यसरी नै तयारी गरिएको थियो । ‘धनगढीको बसमा’ निकै चलेको गीत थियो । दोस्रो पार्टका लागि चुनौती थियो । त्यसकारण पनि पहिल्यैदेखि छलफल गरेर राम्रो काम गर्ने प्रयास गरिएको थियो । त्यो गीत राम्रो पनि भयो । यसरी काम गरिएको गीतहरू भने एकदमै कम हुने गरेका छन् ।

डान्स प्राक्टिस

कतिपय गीतको सन्दर्भमा सुटिङको १–२ दिनअघि कलाकारहरूलाई बोलाएर डान्स प्राक्टिस समेत गर्ने गरेको छु । विशेषगरी डान्सिङ बिटको गीतमा सुटिङमा सहज होस् भन्ने हेतुले ‘डान्स प्राक्टिस’ गराउने गरेको हुँ ।

कतिपय अवस्थामा डान्स प्राक्टिसका लागि कलाकारहरूले समय दिन भ्याउनुहुन्न । चलेका कलाकारहरूलाई डान्स प्राक्टिसमा आउने समय हुँदैन पनि । त्यस्तो अवस्थामा भिडियोमा दिन्ुपर्ने डान्स स्टेपहरू आफूले सिकेको हुन्छु । राति १२–१ बजेसम्म बसेर आफैं नाचेर, आफू पर्फेक्ट भएर अर्को दिन सुटिङमा जान्छु । कहिलेकाहीँ आफूले प्राक्टिस गरेको डान्स स्टेपहरूको भिडियो मोबाइलमा खिच्ने गरेको छु भने कहिलेकाहीँ त्यस्तो स्टेपहरू दिमागमा सेट गरेर जाने गरेको छु । ताकि सुटिङमा पुगेर कलाकारहरूलाई सिकाउन सजिलो होस्, सुटिङ पनि सहज तरिकाले सकियोस् ।

विगतभन्दा फरक गर्ने कोसिस सधैं रहन्छ

ड्रेसअपमा विशेष ध्यान दिने गरेको छु । भिडियो राम्रो देखाउन, कलाकारहरूलाई आकर्षक देखाउन ड्रेसअपको पनि विशेष भूमिका हुन्छ । त्यसकारण पनि ड्रेस छान्न प्रायः म आफैं पुगिरहेको हुन्छु । डान्सिङ बिटको गीतमा डान्स स्टेपहरू केही फरक गरौं भन्ने हुन्छ । लोकेसन पनि फरक देखियोस् भन्ने कुरामा ध्यान दिन्छु । भिडियोको कथाका लागि पनि मेहनत गर्ने गरेको छु । सम्पूर्ण हिसाबले भिडियो पृथक र आकर्षक बनोस् भन्ने सधैं नै रहन्छ । यद्यपि ड्रेसअप, लोकेसन, कोरस लगायतका कुरामा गीत कस्तो हो ? त्यो कुराले नै मुख्य भूमिका खेल्छ । टीम, उपकरणहरूको सम्पूर्ण चाँजोपाँचो प्रोडक्सन म्यानेजरको सहायतामा बन्दोबस्त भएको हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्