२४ असार २०८३, बुधबार
गुजरातको चुनाव

गुजरात ‘इलेक्सन’को रोचक भित्री कथा : मोदीको जादू फेरि चल्ने संकेत

मंसिर २०, २०७९
गुजरात ‘इलेक्सन’को रोचक भित्री कथा : मोदीको जादू फेरि चल्ने संकेत
AFP

बिहीवार (८ डिसेम्बरमा) अपराह्न भारतीय जनता पार्टीले गुजरात विधानसभा निर्वाचनमा विजय हासिल गरेमा आफ्नो लगातार सातौं जीतलाई उसले कसरी व्याख्या गर्ला ?

मैले यो प्रश्न अहमदाबादमा रहेका एक वरिष्ठ भाजपा नेतालाई सोधें ।

उनले फ्याट्टै भने, ‘(नरेन्द्र) मोदी ।’

‘अनि हिन्दूत्व नि ?’ मैले सोधें । 

‘मोदीको छविले हिन्दूत्व लगायत सबै कुरालाई छायाँमा पारेको छ,’ उनले बताए । 

यो चुनाव पूर्णरूपमा मोदीकेन्द्रित भनी सम्झिइनेछ । 

प्रधानमन्त्री मोदीले चुनावमा आफ्नो वाक्कला र मतदातासँग सिधा सम्बन्ध बनाउने क्षमताका साथ सबै विषयलाई किनारामा पारिदिएका छन् । मतदातामाझ उनको भौतिक उपस्थितिले गुजरातको अस्मितालाई जोड दिएको थियो जसलाई उनी आक्रामक रूपमा प्रतिनिधित्व गर्छन् । 

त्यसैले डिसेम्बर १ मा उनले अहमदाबादमा अकल्पनीय काम गरे । उनले उक्त शहरका सडक र गल्ली चहारे  । यस्तो खालको रोडशो गुजरातीहरूले पहिले देखेका थिएनन् । 

मोदीले ५० किलोमिटर लामो रोडशोका साथ चुनावी अभियान चलाए । उनी अहमदाबाद र गान्धीनगरमा रहेका १४ वटा निर्वाचन क्षेत्रको कुनाकाप्चा पुगे । आफ्नो गाडीमा लगातार पाँच घन्टा उभिएर उनले १० लाखभन्दा बढी समर्थक र रमितेहरूलाई हेरेर हात हल्लाए । 

यो अभियानलाई प्रत्यक्ष अवलोकन गर्नका लागि म विसात नगर, नारायणपुरामा उभिएकी थिएँ । त्यहाँ राबरी भनिने गोठालाहरूको समुदायको बसोबास छ । विसात माता उनीहरूकी देवी हुन् । देवीको एउटा मन्दिर पाकिस्तानमा पनि छ । 

उनीहरू मोदीलाई भेट्नका लागि कुरिरहेका थिए । पाकिस्तानमा विसात माताको दर्शनका लागि व्यवस्था मिलाइदिनका लागि मोदीसामु निवेदन गर्न उनीहरू प्रतीक्षारत थिए । 

धरातलमा मोदीको लोकप्रियता

सडकको छेउमा उभिएर मोदीको लावालश्करलाई कुरिरहेका वृद्धहरू जवान मतदातासँग आम आदमी पार्टी (आप) को उपस्थितिका बारेमा बहस गरिरहेका थिए । भाजपाका बफादार समर्थक अधेड उमेरका एक पसलेले मलाई धेरै प्रश्न नसोध्न आग्रह गरे । ‘बहिनी, चर्चा छोडौं, मोदीलाई भोट दिएकाले नै हामी शान्तिपूर्वक बस्न पाइरहेका छौं,’ उनले विनम्रतापूर्वक बताए । 

एक पंक्तिको यो व्याख्याको गहिरो अर्थ छ । मोदीलाई उनकै गृहक्षेत्रमा चुनौती दिन कति गाह्रो छ भन्ने कुरा यसले स्पष्ट पार्छ । जनतालाई सुरक्षाको आभास दिलाउने वातावरण सिर्जना गर्नु यस निर्वाचन अभियानको अभीष्ट देखिन्छ । गुजरातका मतदाताहरूमा सुरक्षाको यस प्रत्याभूतिले काम गरिरहन्छ । 

दुई महिनाअघि कांग्रेस र आपले महंगी तथा सर्वत्र छाएको भ्रष्टाचारको कुरा उठाएका थिए । तर त्यसले उनीहरूलाई निर्वाचनको एजेन्डामा हावी हुन दिएन । मोदी र शाह दिल्लीबाट गुजरात आउनेबित्तिकै ६५ भन्दा बढी आमसभा तथा १५ वटा रोडशो गरे । त्यसपछि भाजपालाई भित्तामा पुर्‍याउने कुनै गम्भीर विषय नै प्रतिपक्षीहरूसँग बाँकी रहेन । 

उत्तरी र दक्षिणी गुजरातमा आयोजित जनसभामा मोदीले आफ्नो बोली परिवर्तन गरी स्थानीयहरूलाई चित्त बुझ्ने गरी सम्बोधन गरे । सौराष्ट्रमा उनले काठियावाडी बोली बोले । 

सामाजिक सञ्जालमा भाजपा र कांग्रेस दुवैले आपको भयंकर चुनौती बेहोरे । ट्विटरमा मत दिन मिल्थ्यो भने आपले प्रचण्ड बहुमतका साथ चुनाव जित्थ्यो । तर चुनावी मैदानमा भाजपाले आपलाई गुजरात पञ्जाबभन्दा फरक रहेको स्मरण गराएको छ । 

तथापि भाजपाले शक्ति, पैसा र राजनीति उपयोग गरे पनि गुजरातमा आपको जन्मलाई रोक्न सक्ने छैन । आपको उपस्थिति जति कमजोर भए पनि उसले भाजपा र कांग्रेसलाई चुनावपछि शैली परिवर्तन गर्न बाध्य पार्नेछ । 

सजिलो रहेन बाटो

मोदी र अमित शाहले गुजरातको शान्ति र स्थिरतामा बढी जोड दिए । उनीहरूले कांग्रेसको भ्रष्ट शासन, भारतमाथि आतंकवादको खतरा, धारा ३७०, युक्रेनको युद्धग्रस्त क्षेत्रबाट भारतीय विद्यार्थीहरूको सुरक्षित निष्काशन र सुरक्षासम्बन्धी विषय पनि उठाए । मुस्लिमबहुल क्षेत्रमा शाहले सन् २००२ को गोधरा दंगाको प्रसंग झिकेर धार्मिक भावना पनि भड्काए । भाजपाले मात्र गुजरातलाई दंगामुक्त गराउन सक्ने संकेत उनले दिए । 

दुई महिनाअघि कांग्रेस र आपले महंगी तथा सर्वत्र छाएको भ्रष्टाचारको कुरा उठाएका थिए । तर त्यसले उनीहरूलाई निर्वाचनको एजेन्डामा हावी हुन दिएन । मोदी र शाह दिल्लीबाट गुजरात आउनेबित्तिकै ६५ भन्दा बढी आमसभा तथा १५ वटा रोडशो गरे । त्यसपछि भाजपालाई भित्तामा पुर्‍याउने कुनै गम्भीर विषय नै प्रतिपक्षीहरूसँग बाँकी रहेन । 

भाजपाको प्रचारबाजीले पनि उम्दा काम गर्‍यो । विशेषगरी क्षेत्रीय छापा माध्यम र गुजराती टीभी च्यानलहरूमा तत्कालीन समस्या भन्दा पनि गुजरातको सुदूर भूत तथा भविष्यका विषयमा बहस चलाइयो । 

त्यसो त भाजपाका लागि सबै कुरा सहज रहेन । विगत केही महिनायता जनताले गुजरात सरकारका विषयमा कठोर आलोचना गरिरहेका थिए । मोदीले बहालवाला मुख्यमन्त्री विजय रूपानी र समग्र मन्त्रिमण्डललाई फ्याँक्नुपरेको थियो । त्यसरी गलहत्याइएका कतिपयले निर्वाचन अभियानमा खुलेर भाग लिएनन् । 

गुजरातमा अहिले अनेकौं महत्त्वपूर्ण विषय रहेका छन् । कबिला क्षेत्रमा अपर्याप्त जल आपूर्ति, महंगो निजी शिक्षा, कमजोर स्वास्थ्य पूर्वाधार तथा व्यापक भ्रष्टाचारले निम्न तथा मध्यम वर्गलाई बढी पीडा दिइरहेको छ । कोभिड व्यवस्थापनमा भएको चुकको दुःखद स्मृति गुजरातीहरूमा अझै पनि छ । स्वास्थ्य पूर्वाधारको अभावमा आफ्ना प्रियजन गुमाएका परिवारले त्यस्तो स्मृति राखिरहेका छन् । 

विभाजित भाजपा

यस निर्वाचनमा भाजपा नेताहरू विभाजित देखिए । सबै निर्वाचन क्षेत्रमा असहमति राख्ने नेता र कार्यकर्ता छन् भने अन्य क्षेत्रमा बागी उम्मेदवारहरू भाजपाका कमजोर उम्मेदवारविरुद्ध लडिरहेका छन् । 

शुरूमा भाजपा गुजरात अध्यक्ष सीआर पाटिलले पार्टीका युवा कार्यकर्तामा उत्साह भरेको भए पनि उनको कर्पोरेट शैलीको कामगराइलाई कोर ग्रुपले चित्त बुझाएको थिएन । उम्मेदवार छान्ने निर्धारित प्रक्रियालाई सुदृढताका साथ अपनाइएको थिएन । डेडलाइनहरू छुटेपछि ती प्रक्रियालाई हतार गरी टुंग्याइएको थियो । 

चुनावी नारा ‘मैले यो गुजरात बनाएको हो’ ले पनि अपेक्षाकृत काम गरेन । पार्टी स्वयंले यसलाई खासै भाउ दिएन । 

विगतमा भाजपाले बागी उम्मेदवारहरूलाई फकाउनका लागि आफ्नो बलियो संयन्त्र उपयोग गर्ने गरेको थियो । तर यसपालि उक्त संयन्त्रले काम गरेन अनि १२ भन्दा बढी नेतालाई पार्टीविरोधी गतिविधि गरेकोमा निलम्बन गरिएको छ । 

रमाइलो कुरा त, पहिलो चरणको निर्वाचनमा कम संख्यामा मतदान हुनुले पन्ना प्रमुख (मतदान केन्द्रमा पार्टी इन्चार्ज) तथा मतदान केन्द्र व्यवस्थापनका विषयमा भाजपाले गर्ने घमण्डको पोल खोलिदिएको छ । मतदाताहरूलाई मतदान केन्द्रमा ल्याउन सक्दैन भने पन्ना प्रमुखको के काम ? 

यस निर्वाचनले कांग्रेस र भाजपाका शीर्ष नेताहरूको झूट पनि उजागर गरेको छ । उनीहरू गुजरातमा आपको उपस्थितिलाई निरन्तर अस्वीकार गरिरहेका थिए । भाजपाका नेताहरूले चुनाव जित्ने कांग्रेसीहरूको सम्भावनालाई बढाइचढाइ प्रस्तुत गर्नु रमाइलो रह्यो । आपलाई दुवै दलले आक्रमण गरेका थिए । 

आपको कुनै विचारधारा छैन त्यसैले यो भारतीय राजनीतिमा लामो समय टिक्दैन भनी भाजपाले सञ्चारमाध्यमहरूलाई बारम्बार बताएको थियो । भाजपा नेताहरूले वामपन्थी दल, समाजवादी पार्टी, बहुजन समाज पार्टी र द्रविड पार्टीहरू विचारधाराका कारण मात्र बढेको बताउने गरेका थिए । 

सन् २०१७ को चुनावमा भाजपाले १.४ करोड भोट पाएको थियो भने कांग्रेसले लगभग १.२ करोड भोट सोहोरेको थियो । कांग्रेसको त्यो नै सबभन्दा बढी भोट भएको बताइन्छ । अहिले कांग्रेस पहिलेभन्दा कमजोर छ । 

यस निर्वाचनमा कांग्रेससँग भाजपाविरुद्ध कुनै सिलसिलेवार राजनीतिक सन्देश छैन । उसलाई पार्टीको केन्द्रीय नेतृत्वको समर्थन पनि प्राप्त छैन अनि गुजरातभरिका लागि सिर्जनात्मक मिडिया क्याम्पेन पनि छैन । कांग्रेसका सबै उम्मेदवारहरूले आफ्नै लगानीमा चुनाव लडेका हुन् । भाजपासँग रहेको स्रोतसाधनको छेउछाउमा पनि उनीहरू पुग्न सकेनन् । 

सन् २०१७ को निर्वाचनमा दुई पार्टीबीच भएको भोट शेयर अन्तरले मोदीलाई आत्मविश्वास दिलाएको हो । सत्ताविरोधी लहरका कारण भाजपाले मत गुमाएछ भने पनि ऊ यस भिडन्तमा आरामदायी स्थितिमा छ । 

केही प्रश्नको उत्तर

गुजरातका युवा समेत विभाजित छन् र तीमध्ये धेरैजसोलाई क्रान्तिमा रुचि छैन भनी आपका स्थानीय नेताहरू गुनासो गर्छन् । सन् १९७४ मा तत्कालीन मुख्यमन्त्री चिमनभाइ पटेलको कार्यकालमा खस्किँदो अर्थतन्त्र तथा भ्रष्टाचारका विरुद्ध शुरू भएको नवनिर्माण आन्दोलन जस्तो कुनै क्रान्तिका लागि गुजराती युवाहरू तयार नरहेको आपको गुनासो छ । 

अनुवर्ती (कन्फर्मिस्ट) दलका रूपमा उदाइरहेको आप महात्मा गान्धीको जन्मभूमिमा जन्मिनका लागि तयार छ । तर उसले सम्मानजनक भोट शेयर र केही सीट जितेछ भने पनि उसका लागि आगामी दिनहरू कठिन हुनेछन् । भाजपाले उसलाई विशेष ध्यान दिएको छ र आप नेताहरू लडिरहेको निर्वाचन क्षेत्रमा बढी स्रोतसाधन खन्याएको छ । 

गुजरातको कथा मोदीका बारेमा र मोदी वरिपरि घुमिरहने सम्भावना छ । मोदीलाई राम्रोसँग चिन्ने सुरतवासी एक वरिष्ठ पत्रकार भन्छन्, ‘मोदी झूटा हिन्दू हुन् भन्ने कुरालाई विपक्षीहरूले जनतासामु विश्वसनीय तरिकाले नराखुन्जेल गुजरातमा अरू कसैले पनि चुनाव जित्न सक्दैन । तर यो हुन नसक्ने स्पष्ट छ । मोदीको साख कायम रहुन्जेल गुजरातीहरूले भाजपालाई विजयी गराइरहनेछन् ।’

यो निर्वाचन अनुत्साहजनक किसिमको छैन किनकि यसले केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिनेछ । मोदीले कसरी र कुन हदसम्म निर्वाचनमा प्रभाव पारे ? मोदीको लोकप्रियता यस चुनावमा चरममा पुगेको हो ? सन् २०१७ को तुलनामा भाजपाको भोट शेयर बढ्ला कि घट्ला ? 

आपले शहरी र ग्रामीण क्षेत्रमा भाजपा र कांग्रेसबाट कति भोट खोस्ला ? गुजरातमा ‘नयाँ कांग्रेस’ बन्नका लागि पर्याप्त भोट शेयर आपले प्राप्त गर्ला ? कतिवटा सीटमा आपले कांग्रेसको भोट काटेर भाजपालाई फाइदा दिलायो ? भाजपाले सौराष्ट्र र उत्तरी गुजरातमा सुधारिएको प्रदर्शन गर्ला ? कांग्रेसले जितेको सीटमा जातिवादले कस्तो भूमिका खेल्यो ? 

गुजरातमा आपको प्रवेशलाई सघाउने कुन वास्तविक मुद्दा थिए ? गुजरातमा भत्किएको शासनव्यवस्थालाई मोदीले कसरी सुर्धाछन् ? पार्टी सञ्चालनमा उनले कस्ता किसिमका परिवर्तन ल्याउनेछन् ? 

गुजरातको कथा मोदीका बारेमा र मोदी वरिपरि घुमिरहने सम्भावना छ । मोदीलाई राम्रोसँग चिन्ने सुरतवासी एक वरिष्ठ पत्रकार भन्छन्, ‘मोदी झूटा हिन्दू हुन् भन्ने कुरालाई विपक्षीहरूले जनतासामु विश्वसनीय तरिकाले नराखुन्जेल गुजरातमा अरू कसैले पनि चुनाव जित्न सक्दैन । तर यो हुन नसक्ने स्पष्ट छ । मोदीको साख कायम रहुन्जेल गुजरातीहरूले भाजपालाई विजयी गराइरहनेछन् ।’

डिसेम्बर ८ सम्म कुरौं ।

द प्रिन्ट पत्रिकामा प्रकाशित शीला भट्टको लेखलाई लोकान्तरका लागि विन्देश दहालले उल्था गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्