
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको चुनावपछि मात्र शक्ति बाँडफाँटको छलफल गर्न प्रस्ताव गरेका छन् ।
चुनावपछिको नयाँ सरकार गठनबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा गठबन्धनमा यसबारे खास छलफल हुन नसकेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष र नेताहरूमार्फत भइरहेको संवादमा देउवाले कांग्रेस संसदीय दलको चुनावपछि पावर शेयरिङबारे छलफल गर्न प्रस्ताव गरेका हुन् । चुनावपछि प्रचण्डले देउवासँग तीनपटक छलफल गरिसकेका छन् ।
सत्ता गठबन्धनका चार दलले संयुक्त वक्तव्यमार्फत यही गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइसकेका छन् । सोमवार बालुवाटारमा बसेको गठबन्धनको बैठकले निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई समेत प्रमाणपत्र दिएपछि पावर शेयरिङको विषयमा छलफल आरम्भ गर्ने बताएका थिए ।
‘पावर शेयरिङमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । देउवाले संसदीय दलको चुनावपछि मात्र गरौं भनेर प्रस्ताव गर्नुभएको छ,’ माओवादी स्रोतले बिहीवार लोकान्तरसँग भन्यो । संसदीय दलको नेता बन्न कांग्रेसभित्र बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनाव जितेका र समानुपातिकको बन्दसूचीमा रहेका सांसदका कारण संसदीय दलको नेता निर्वाचित हुनेमा देउवा विश्वस्त छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्ने भएकाले देउवाले पहिलो मिसन संसदीय दलको नेता बन्ने बनाएका छन् ।
बधाई दिन बालुवाटार पुगेका सांसदहरूलाई उनले संसदीय दलमा सघाउन आग्रह गरिरहेका छन् ।
मंगलवार बालुवाटार पुगेका पूर्व महामन्त्री डा. शशांक कोइरालासँग देउवाले संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री बन्न प्रचण्डको कसरत
संसदीय दलको चुनाव पर्खिन आग्रह गरेका देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना देखाए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत प्रयास छाडेका छैनन् ।
‘संसदीय दलको नेता बनेर देउवाले फेरि प्रधानमन्त्री बन्ने आकांक्षा देखाउनुभयो । सरकारको नेतृत्वका लागि हाम्रो पनि प्रयास जारी छ,’ प्रचण्डलाई भेटेका माओवादीका एक प्रभावशाली नेताले भने ।
माओवादीले तीनवटा कारण देखाउँदै कांग्रेससँग नयाँ सरकारको नेतृत्व दाबी गरेको छ । शेरबहादुर देउवालाई दुईपटक प्रधानमन्त्री बनाउन मद्दत गरेको, केपी ओलीले संसद् विघटन गरेका बेला आन्दोलनको नेतृत्व गरेको र चुनावअघि नेताहरूबीच भएको भद्र सहमति पालना गर्न भन्दै माओवादीले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहेको हो ।
नयाँ सरकारको नेतृत्व दाबी गरेका प्रचण्डले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । प्रचण्ड र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा सरकार गठनलगायत समसामयिक घटनाक्रमबारे छलफल भएको थियो ।
प्रचण्डले कांग्रेसका दोस्रो तहका नेताहरूसँग पनि बाक्लो छलफल गरिरहेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत नेतासँग प्रचण्डले छलफल गरेका छन् ।
गठबन्धनको पक्षमा बहुमत जुटाउन प्रचण्डले संसदमा ४ सीट रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जेलमै पुगेर भेटेका छन् भने प्रभु साहलगायत स्वतन्त्रसँग पनि सम्पर्क बढाएका छन् ।
माओवादीभित्र संसदीय दलको नेताका लागि प्रचण्डलाई चुनौती दिने नेता फेला परेका छैनन् ।
राष्ट्रपति–प्रधानमन्त्री दुवैमा कांग्रेसको दावी
पावर शेयरिङमा ठोस छलफल शुरू नभए पनि सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्तावसहित राष्ट्रपति पद सुरक्षित गर्न खोजेको सन्देश गठबन्धनका दललाई दिएको छ ।
पहिलो एक वर्ष या दुई वर्षपछि प्रधानमन्त्री दिने प्रतिबद्धतासहित माओवादीलाई सभामुख लिन आग्रह गर्ने कांग्रेस स्रोत बताउँछ ।
कांग्रेसमा डा. शेखर कोइरालालगायत नेताहरू राष्ट्रपति कांग्रेसले राख्नुपर्ने लबिङमा छन् ।
कोइराला लगायतका नेताहरू शेरबहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गर्ने योजनामा छन् ।
पढ्नुहोस्, यो पनि :
शुरूमा आफैंले नेतृत्व गरे पनि गठबन्धन बचाइराख्न केही समयपछि माओवादीलाई सरकारको नेतृत्व दिनैपर्ने कांग्रेसको बुझाइ छ । प्रधानमन्त्री लिनका लागि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसमा बलियो छ ।
अहिले राष्ट्रपति माओवादीलाई दिएमा केही समयपछि प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीसँग हुने र आफूहरू पावरविहीन बन्ने भयमा कांग्रेस नेताहरू देखिन्छन् ।
भावी प्रधानमन्त्रीसँगै राष्ट्रपति को बन्छ भन्नेमा कूटनीतिक वृत्त समेत सक्रिय बनेको छ ।
पहिलो कार्यकालमा माओवादीलाई सभामुख, नेकपा एसलाई उपराष्ट्रपति र साना दललाई मन्त्री दिएर गठबन्धन बनाउने कांग्रेसको प्रयास रहेको नेताहरू बताउँछन् ।
राष्ट्रपतिका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा रहेको स्रोतहरूको दाबी छ ।
सत्ता गठबन्धनको आडमा महन्थले महोत्तरी– ३ बाट चुनाव जितेका थिए । ठाकुरलाई राष्ट्रपति बनाउन एउटा पक्षले लबिङ गरिरहेको कांग्रेस स्रोत बताउँछ ।