०२ साउन २०८३, शनिबार

कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते

असार १६, २०८३
कपिलवस्तु
कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित २२ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइतेहरूमा बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, चितवन र दार्चुलाका यात्रु रहेका छन्। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ४६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते नभएका २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि क्रेनको सहायताले पल्टिएको बस हटाइएपछि हुलाकी सडक दुवैतर्फ सञ्चालनमा आएको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्