२९ जेठ २०८३, शुक्रबार
उद्यम

... अनि मोडियो इमानसिंको यात्रा ! च्याउ कृषकदेखि प्रशिक्षकसम्म

मंसिर २४, २०७९
... अनि मोडियो इमानसिंको यात्रा ! च्याउ कृषकदेखि प्रशिक्षकसम्म

२०५६ सालको कुरा हो । सुर्खेतको वीरेन्द्रनगर–११ चौखेढुंगाका इमानसिं बस्नेत प्लस टु पढिरहेका थिए । त्यतिबेला अलिकति हुनेखाने परिवारका युवाहरू आकर्षक तलब पाउने आशमा खाडी मुलुक जाने लहर चलिसकेको थियो । अहिलेजस्तो ‘फ्री भिसा फ्री टिकट’को जमाना थिएन ।

विदेशसम्म पुग्न विभिन्न शीर्षकमा लाखको दरमा केही रकम खर्च गर्नैपर्थ्यो ।

इमानसिं भारतीय सैनिकका छोरा हुन् । उनलाई काठमाडौंसम्म पुग्न र विदेश उड्न समस्या थिएन । उनी विदेश जाने मनसायले घरबाट हिँडे । काठमाडौंमा म्यानपावर कम्पनीको सम्पर्कमा पुगेर होटल म्यानेजमेन्टको तालिम लिए । काठमाडौंको एकतारे होटलमा तालिम लिँदा इमानसिं ५० हजार रुपैयाँ बुझाए । तालिम लिइरहेकै बेला उनी अचानक बिरामी परे । उनले म्यानेजरसँग केही दिनको बिदा मागे । ५ दिनसम्म ड्युटीमा आउन सकेनन् ।

म्यानेजरले बिदा नदिएर उल्टै हपारेपछि उनको मन कुँडियो । उनी भन्छन्, ‘बिरामी भएको सातौं दिनमा अलि हल्का भएको थियो, होटल गएर आफ्ना सरसामान प्याकिङ गरी सुर्खेत फर्किएँ, म्यानेजरको हेपाहा प्रवृत्ति, बिरामी हुँदा समेत बिरामी नपाउँदा मन धेरै खिन्न भयो, मलाई लाग्यो आफ्नै देशमा त यस्तो छ, विदेशमा झन् कम्ता दुःख पाइएला ?’ त्यतिखेर दुबईका लागि उनको भिसा आइसकेको थियो ।
 
वैदेशिक रोजगारीका लागि दुबईको यात्रा तय गरेर काठमाडौंको केही महिनाको बसाइँपछि इमानसिं घर फर्र्किए । उनलाई लाग्यो अब गाउँमै बसेर केही गर्नुपर्छ । सुर्खेत उपत्यकाको दक्षिण पूर्वी भेगमा पर्ने चौखेढुंगामा उनको घरसहित ७ कट्ठा जग्गा थियो । तरकारी खेती र मिल सञ्चालन गर्ने निधो गरे उनले । मुख्य सडकसम्म गाउँ जोड्ने कच्ची बाटो बनेको थियो । त्यतिबेलाको सुर्खेत अहिलेजस्तो विकसित थिएन । अहिलेजस्तो जताततै बजार, सवारीसाधन, घरहरू थिएनन् । साइकलमै उनी बजार–घर आउजाउ गर्थे । साइकलमै राखेर तरकारी बेच्न बजारसम्म आउँथे । तरकारी खेती गर्दागर्दै उनी गाउँकै अगुवा कृषक कहलिसकेका थिए ।

२०६४ पुस महिनामा गाउँमा एक दलित गैरसरकारी संस्थाले दलित किसानलाई मात्र लक्षित गरी च्याउ खेती सम्बन्धी तालिम दिएको थियो । उनी गैरदलित हुँदा त्यसमा समेटिएनन् तर तालिम लिएका छिमेकी युवाहरूले च्याउ खेती गर्ने छाँट देखाएनन् । ‘तालिम पाएका युवाहरू सबै बरालिएको देखें, अब उनीहरूलाई काममा लगाएर च्याउ खेती गर्छु भन्ने अठोट जाग्यो,’ ४७ वर्षीय इमानसिं भन्छन्, ‘आफ्नो जग्गा जमिन पनि छ, कच्चा पदार्थ (दाउरा, पराल, पानी) छ, किन नगर्ने त भन्ने लाग्यो । यसका लागि आवश्यक पर्ने सरसामान र पूर्वाधारको बन्दोबस्त गर्दै गएँ ।’

उनले व्यक्तिगत ४० हजार र युवा स्वरोजगार कोषको ४० हजार रुपैयाँ अनुदान गरी ८० हजारमा च्याउ खेती शुरू गरे । तालिम लिएका २ जना युवाबाट केही ज्ञान लिएर लिए । त्यतिबेला उनले च्याउ खेती गर्दा सुर्खेत उपत्यकामा छिटपुटबाहेक व्यावसायिक रूपमा कसैले शुरूआत गरेका थिएनन् । ‘च्याउ खान धेरै बानी परेका थिएनन्, शुरूशुरूमा बजारमा चिनाउनै गाह्रो पर्‍यो, च्याउ पनि खान्छन् र भन्ने मान्छे पनि थुपै्र थिए,’ उनी भन्छन्, ‘पछि कतिपय घरमै लिन आउन थाले, कसैले अर्डर गर्न थाले । शुरूका १–२ वर्षबाहेक त्यसपछि बजारका लागि कुनै चिन्ता लिनु परेन ।’

इमानसिंले हालसम्म च्याउ फर्ममा ६५ लाख बराबरको लगानी गरिसकेका छन् । ‘जोखिम एकदमै छ, एकपटक हरियो ढुसीका कारण ५ लाखसम्म क्षति भएको छ । ४ हजार बल (डल्ला) तयार गर्थे, त्यहीँ वर्ष त्यसको दोब्बर ८ हजार बल तयार गरेर त्यो घाटा असूल गर्न सफल भएँ,’ उनले सम्झिए, ‘यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दो रहेनछ, अन्य खेतीजस्तो धेरै दुःख गर्नु पर्दैन ।’

दूर्गा पशु कृषि तथा च्याउ फर्मको नाममा उनले दैनिक ४–५ क्वीन्टल च्याउ उत्पादन गर्दै आएका छन् । च्याउका ६ वटा टनेल (च्याउ फल्ने घर) छन् । एउटा टनेलमा १ हजार बल (डल्ला) मा च्याउ उत्पादन हुन्छन् । उनी बाह्रै महिना च्याउ उत्पादन गर्छन्, उनलाई बजारको समस्या छैन । 

उत्पादित च्याउ बजारसम्म पुर्‍याउन अटो रिक्सासँग मासिक सम्झौता गरेका छन् । जहाँ–जहाँ अर्डर आउँछ अटो रिक्साले त्यहीँ डेलिभरी गरिदिन्छ । उनले प्रतिकिलो थोकमा २०० र खुद्रा मूल्य २५० रुपैयाँमा च्याउ बिक्री गर्ने गर्छन् । 

अन्य युवाहरू रोजगारीका लागि भौतारिरहेका बेला उनी घरमै बसेर मासिक डेढदेखि २ लाख रुपैयाँसम्मको कारोबार गर्छन् । न्यूनतम ६० हजार त उनको बचत मात्रै हुन्छ । च्याउ खेतीबाटै ५ जनाको परिवारको खर्च धानेका छन् उनले । च्याउ खेतीबाटै प्राप्त आम्दानीले जेठो छोरालाई काठमाडौंमा व्यवस्थापन, छोरीलाई ऐग्रिकल्चर र कान्छो छोरालाई १२ कक्षामा व्यवस्थापन विषय पढाइरहेका छन् ।

उनी भन्छन्, ‘च्याउबाट भरपुर आम्दानी छ, सधैं एकनासको कमाइ हुँदैन, हरेश नखाएर लगातार काम गर्ने हो भने आम्दानी सोचेभन्दा बढी नै हुँदो रहेछ ।’

इमानसिंले च्याउ फर्ममै ११ जनालाई रोजगारी दिएका छन् । तीमध्ये २ जना मासिक तलबी र बाँकी ज्यालादारीमा काम गर्छन् । ज्यालादारीले खाना–नास्तासहित दैनिक ६०० देखि १००० रुपैयाँसम्मको पारिश्रमिक लिन्छन् । तलबीमा काम गर्नेले मासिक १८ हजार २१ हजार रुपैयाँ लिन्छन् । उनीहरूले च्याउ सफा गर्ने, काट्ने, पानी सुकाउने, स्टिम गर्ने, प्याकिङ गर्ने लगायतका काम गर्छन् ।

इमानसिं च्याउ कृषक मात्र होइनन्, च्याउ खेतीका कुशल प्रशिक्षक भएर विभिन्न स्थानमा तालिम दिन जान्छन् । त्यति मात्र होइन, कृषिका विद्यार्थीहरू अभ्यास कार्य (ओजेटी) का लागि उनै कहाँ आउँछन् । उनले आफूले सिकेको ज्ञान, सीप विद्यार्थीलाई सिकाउँछन् । उनले जिल्ला कृषि विकास कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट विभिन्न पुरस्कार र सम्मान पाइसकेका छन् ।

सुर्खेत उपत्यकामा च्याउ खेतीको व्यावसायिक शुरूआत गर्ने श्रेय उनैलाई जान्छ । उनकै पे्ररणाबाट जिल्लाका अन्य कृषकले च्याउ खेती गर्न थालेका हुन् । 

च्याउ शाकाहारी तरकारी हो । यो स्वादिष्ट हुन्छ । च्याउ स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । यसमा क्यालोरीको मात्रा कम हुनुका साथै पोषण तत्वहरू पर्याप्त पाइन्छ । जुन शरीरका लागि बढी लाभदायक छ । यसलाई करी, सलाद, सुप र तरकारी बनाएर पनि खान सकिन्छ । इमानसिं पहाडी क्षेत्रका गाउँघरमा सहज रूपमा च्याउ खेती गरी पर्याप्त आम्दानी लिन सकिने बताउँछन् तर यसका लागि व्यावहारिक ज्ञान भने लिनैपर्छ ।

विदेशमा गएर अनेक दुःख–पीडा खेप्नुभन्दा आफ्नै गाउँघरमा उद्यम गर्न सके धेरै सफलता मिल्ने उनको सुझाव छ । उनी भन्छन्, ‘च्याउ खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन्, यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन, विशेष हेरचाह, स्याहारको आवश्यकता भने पर्दछ ।’

कमेन्ट गर्नुहोस्