
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्लासमेत रहेको झापामा सांसदको लर्काे लागेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरेर ३१ जना सांसद बनेका छन् । झापामा प्रत्यक्षभन्दा समानुपातिकतर्फ धेरै सांसद बनेका छन्
।
समानुपातिकमा दलहरुले बुझाएको बन्दसूचीमा समावेश भएका नामहरूको आधारमा झापाबाट सांसदको सख्या अन्य जिल्लाको तुलनामा धेरै रहेको छ । प्रतिनिधि सभामा ५ वटा र प्रदेश सभामा १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट प्रत्यक्षमा १५ जना निर्वाचित भएका छन् । १६ जना समानुपातिकबाट निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा १० जना समानुपातिकबाट निर्वाचित हुनका लागि सिफारिसमा परेका छन् ।
समानुपातिकबाट प्रतिनिधि सभामा सिफारिस हुनेहरूमा हुनेहरूमा कांग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी छन् । यस्तै, राप्रपाले झापाबाट इन्दिरा राना मगर र निशा डाँगीको नाम आयोगलाई बुझाएको छ ।
प्रदेश सभातर्फ समानुपातिकमा चार दलले १० जनाको नाम सिफारिस गरेका छन् । एमाले, कांग्रेस र राप्रपाले तीन÷तीन जनाको नाम प्रदेश सभामा निर्वाचित गर्नका लागि सिफारिस गरेका हुन् । माओवादी केन्द्रले एक जनाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।
एमालेले प्रदेश सभा समानुपातिकमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमालको नाम निर्वाचित गर्न सिफारिस गरेको छ । कांग्रेसले उद्धव थापा, मोहन महर्जन र लखकुमारी गणेश तथा राप्रपाले निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई प्रदेश सभामा सिफारिस गरेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गरेको छैन । यद्यपि, दलहरूले गरेको सिफारिस अन्तिमसरह हो । केही कानूनी अड्चन बाहेकको अवस्थामा दलहरूले निर्वाचित गर्न गरेको सिफारिसकै आधारमा आयोगले घोषणा गर्नेछ ।
एमालेले प्रदेश १ मा समानुपातिकबाट १५ सांसद पाएको छ भने कांग्रेसले १२ र माओवादी केन्द्रले १ सांसद पाएको छ ।