२४ असार २०८३, बुधबार

पशुपतिनाथमा धनुर्मास पूजा

पशुपतिनाथमा धनुर्मास पूजा

सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमवार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि सोमवार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा रहिआएको छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पचास दिनसम्म पानीको सतहमुनि बस्ने भएकाले मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी पनि खुवाउने परम्परा पनि छ ।

सोमवार राति १ बजेदेखि आज बिहान ६ बजेसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । आजको विशेष पूजा पनि राति नै सम्पन्न गरिएको छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । सोमवार रातभर धनुर्मास पूजा गरेपछि मंगलवार पशुपतिनाथलाई उपवास राख्ने भएकाले आज अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिएको उनको भनाइ छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाई घाममा शयन गर्ने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइने र  बेलुकीे शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ । बुधवार बिहानदेखि भने नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्