
झापाको मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ ।
विशेषगरी शनिवार र मंगलवार यहाँ दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरूलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ ।
पूर्वी नाका काँकरभिट्टादेखि १२ मिटर पश्चिम चारआलीमा रहेका मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारतका सिक्किम, दार्जीलिङ, आसाम, सिलगुढी लगायतका क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरू आउने गरेका धार्मिक एवं पर्यटकीयस्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताए ।
ताप्लेजुङमा रहेको ठूली पाथीभरा माताको दर्शन गर्नुअघि भक्तजनले यहाँ रहेको पाउँ पाथीभरामा दर्शन गर्ने चलन रहेको छ । देवीदेवताका विभिन्न आकृतिले भरिपूर्ण दुर्लभ बृक्षको फेदमा देवीको मन्दिर रहेको छ । देवीको दर्शनका लागि विभिन्न समयमा श्री १००८ जगतगुरु बालसन्त मोहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज, व्यासाचार्य धर्मगुरू किशोर गौतम, समालोचक मोदनाथ प्रश्रितलगायत आइसकेका छन् ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेलले यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । १ वर्षको अवधिमा १ करोडभन्दा बढी आर्थिक कारोबार भएको धाम समितिले जनाएको छ ।
धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिले आर्थिक वर्ष २०७८/७९ मा १ करोड ३३ लाख ४५ हजारको कारोबार भएको जनाएको हो ।
समितिका कोषाध्यक्ष प्रकाश बास्तालले सो रकम आजीवन सदस्य, पूँजीगत सहयोग अनुदान, दानपेटिका, मन्दिरमा चढाइएका जिन्सी सामाग्री, गरगहना बिक्री, टीका, भेटीबाट संकलन भएको बताए । उनले समितिमा हुने खर्च कटाएर हाल बैंक सहितको मौज्दात ४९ लाख २७ हजार ६२६ रकम रहेको बताए ।