०७ साउन २०८३, बिहीबार
ब्राजिलमा दंगा

ब्राजिलमा बोल्जोनारो समर्थकको उपद्रो– वाम सरकार बनेलगत्तै किन मच्चियो दंगा ?

पुस २७, २०७९
ब्राजिलमा बोल्जोनारो समर्थकको उपद्रो– वाम सरकार बनेलगत्तै किन मच्चियो दंगा ?
Photo : Sky News

ब्राजिलमा आइतवार (८ जनवरी) एक हुल दंगाकारीहरूले राज्यका तीनै अंगमा आक्रमण गरेपछि त्यसको चौतर्फी निन्दा भइरहेको छ । 

पूर्व राष्ट्रपति जाइर बोल्जोनारोका समर्थक हौं भनी दाबी गर्ने ती उपद्रवीहरूले राष्ट्रपति भवन, सर्वोच्च अदालत र संसद् भवनमा प्रवेश गरी तीन घन्टासम्म तोडफोड र हिंसा गरेका थिए । नवनिर्वाचित राष्ट्रपति लुला इनासियो लुला दा सिल्भाले पद तथा गोपनीयताको शपथ लिएको एक हप्तालगत्तै बोल्जोनारोका समर्थकहरूले राज्यका संवेदनशील निकायमा आक्रमण गरेका हुन् । 

यस प्रकरणले सन् २०२१ को जनवरीमा अमेरिकी संसदमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणको झल्को दिएको छ । त्यतिखेर संसद्ले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको जीतलाई प्रमाणीकरण गर्नका लागि प्रक्रिया अघि बढाउँदा ट्रम्पसमर्थकहरूले संसद् भवन क्यापिटोलमा प्रवेश गरी घन्टौंसम्म उपद्रो गरेका थिए । 

आफूलाई ट्रम्पका अनुयायी मान्ने बोल्जोनारोले पनि समर्थकहरूलाई लामो समयसम्म उक्साएर ब्राजिलको राज्य संयन्त्रमाथि आक्रमण गर्ने वातावरण निर्माण गरेका हुन् । गत जुन महिनामा नै उनले आफू पराजित भएमा समर्थकहरूलाई युद्धमा जान आह्वान गरेका थिए । 

तर चुनाव हारेपछि उनी आफैं चाहिँ डिसेम्बर महिनाको अन्त्यतिर ब्राजिलबाट अमेरिकाको फ्लोरिडा पुगेर पेटको उपचार गराइरहेका छन् र त्यतै बसिरहेका छन् । एनपीआर डट्कमकी एमिली ओल्सनका अनुसार, बोल्जोनारोमाथि चारवटा फौजदारी मुद्दामा अनुसन्धान चलिरहेकाले त्यसबाट बच्न सकिन्छ भनी उनी अमेरिका गएका हुन् । संसद्, राष्ट्रपति र सर्वोच्च अदालत भवनमा आक्रमण हुँदा आफू देशबाहिर रहेकाले त्यसको जिम्मेवारी आफूमा निहित नरहने तर्क बोल्जोनारोले गर्ने सम्भावना छ ।

त्यसो त बीबीसीकी केटी वाटसन बोल्जोनारो आफैंले आक्रमणको योजना नबनाएको हुन सक्ने तर यस घटनामा उनको जिम्मेवारीलाई अलग्याउन पनि नसकिने लेख्छिन् । 

हुन पनि बोल्जोनारोले आफू राष्ट्रपति हुन्जेल ब्राजिलका सरकारी निकायमाथि लगातार प्रश्न उठाउने गरेका थिए । उनले कुनै पनि प्रमाण नदिइकनै सर्वोच्च अदालत आफूविरुद्ध राजनीतिक रूपमा लागेको तथा मतदान प्रणाली पनि धाँधलीको जोखिममा रहेको बताउने गरेका थिए । उनका अन्धसमर्थकहरूले यी कुरालाई गम्भीरतापूर्वक लिएर आफ्ना प्यारा नेताविरुद्ध लागेको भनिएका राज्यका निकायमाथि आक्रमण गरेका हुन् । 

उपद्रवीहरूले यसरी राज्यका संवेदनशील निकायका भवनमा तोडफोड गर्न पाउने स्थिति आफैंमा निकै गम्भीर छ । पर्याप्त संख्यामा प्रहरी जवानहरूलाई सुरक्षामा नखटाइएको विषयमा प्रश्न उठिरहेका छन् । सुरक्षा संयन्त्रमा रहेका बोल्जोनारो समर्थकहरूले नै सत्ता पल्टाउन सकिहालिन्छ कि भनी सुरक्षा प्रबन्ध कमजोर बनाउन लगाएको हुन सक्ने अनुमान पनि गरिएका छन् । 

आइतवारको स्थिति आउनुअघिबाट नै ब्राजिलमा तनावका संकेतहरू देखिन थालिसकेका थिए । गत अक्टोबर महिनामा भएको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्जोनारोले विपक्षी उम्मेदवार लुलाको विजयमाथि प्रश्नचिह्न खडा गरेका थिए । 

निर्वाचन परिणाम घोषणा गरिएलगत्तै बोल्जोनारो समर्थकहरू ब्राजिलभरिका सैन्य अड्डाबाहिर भेला भएर लुलालाई राष्ट्रपति बनाउनबाट रोक्नका लागि सेनासँग माग गरिरहेका थिए । आफूलाई राष्ट्रवादी देखाउनका लागि उनीहरू ब्राजिली झण्डा बेरेर प्रदर्शन गरिरहेका थिए । अनि बोल्जोनारोका समर्थक ट्रकचालकहरूले सडकमा ट्रक तेर्स्याएर विरोध पनि गरेका थिए । 

नोभेम्बर महिनामा पनि बोल्जोनारो समर्थकहरूले सैन्य हस्तक्षेपको माग गर्दै अनेकौं जुलुस निकालेका थिए । नोभेम्बर २२ मा बोल्जोनारो स्वयंले पनि निर्वाचनमा ठूलो संख्यामा भोटहरू अवैध भएको आरोप लगाउँदै मतपरिणामलाई चुनौती दिएका थिए । 

डिसेम्बर महिनामा पनि विरोध जारी रह्यो । क्रिसमस अर्थात् डिसेम्बर २५ को पूर्वसन्ध्यामा राष्ट्रपति निर्वाचनको मतपरिणामको विरोध गर्दै बम पड्काउने एक व्यक्तिलाई पक्राउ गरिएको थियो । 

बोल्जोनारो समर्थकहरूले राजधानी ब्रासिलियामा रहेको संघीय प्रहरी मुख्यालयमा आगजनी गरेका थिए । कू गर्न खोजेको आरोप लगाउँदै चारजनालाई डिसेम्बर २९ मा पक्राउ गरिएको थियो । 

तमाम विरोधका बावजूद लुलाले जनवरी १ मा पदको शपथ लिएका थिए । शपथग्रहण समारोहभन्दा ठीक अघि बम पड्काउन खोज्ने एकजनालाई पक्राउ गरिएको थियो । लुला औपचारिक रूपमा राष्ट्रपति बनेपछि त्यसलाई सहन नसकी बोल्जोनारो समर्थकहरूले जनवरी ८ मा हिंसा र तोडफोड गरेका हुन् । 

बोल्जोनारोका चार हजार समर्थकहरू आइतवार अपराह्न २ बजे संसद् भवनतर्फ जुलुस निकाल्दै अघि बढेका थिए । लगभग ३ बजेतिर उनीहरू संसद् भवनका ब्यारियर तोड्दै भित्र प्रवेश गरेका थिए । 

अरू समर्थकहरू राष्ट्रपति भवनमा प्रवेश गरी त्यहाँका कलाकृति र फर्निचर तोडफोड गरेका थिए । गार्डियन पत्रिकाका संवाददाता टम फिलिप्सले दिएको विवरणअनुसार, उपद्रवीहरूले राष्ट्रपति भवनको दोस्रो तल्लामा रहेको १९औं शताब्दीका प्रधानमन्त्री ड्युक अफ कासियासको तस्वीरमा हिटलरको जुँगा बनाइदिएका थिए । उनीहरूले महान् चित्रकार एमिलियानो डी कभालकान्तीको लाखौं डलर पर्ने तस्वीरमा सातपटक चक्कु प्रहार गरेका थिए ।

अनि सर्वोच्च अदालत भवनको अग्रभागमा रहेको शीशाको संरचना पनि उनीहरूले तोडफोड गरेका थिए भने न्यायाधीशहरू बस्ने च्याम्बर पनि भत्काइदिएका थिए । 

साढे ५ बजेसम्म दंगाकारीहरूलाई सुरक्षाकर्मीले पानीको फोहरा र स्तब्ध बनाउने हतियार उपयोग गरी तितरबितर बनाएका थिए । तर धेरैजसो विरोधकर्ताहरू सरकारी भवन परिसरबाहिरै पछिसम्म पनि बसिरहेका थिए । 

ब्राजिलका न्यायमन्त्री फ्लाभिओ डिनोले घटनामा संलग्न १५ सयजनाभन्दा बढीलाई पक्राउ गरिसकिएको जानकारी पत्रकारहरूलाई दिएका छन् । 

राष्ट्रपति लुला दा सिल्भाले यो घटना बर्बरतापूर्ण भएको बताएका छन् । सुरक्षा प्रबन्धमा आएको कमीका कारण बोल्जोनारोका फासिस्ट समर्थकहरूलाई सरकारी निकायका भवनको ब्यारियर तोडेर अघि बढ्न सजिलो भएको पनि उनले जानकारी दिए । घटनामा संलग्न सबैलाई दण्ड दिइने उनको भनाइ छ ।

तर उपद्रवीहरूले यसरी राज्यका संवेदनशील निकायका भवनमा तोडफोड गर्न पाउने स्थिति आफैंमा निकै गम्भीर छ । पर्याप्त संख्यामा प्रहरी जवानहरूलाई सुरक्षामा नखटाइएको विषयमा प्रश्न उठिरहेका छन् । सुरक्षा संयन्त्रमा रहेका बोल्जोनारो समर्थकहरूले नै सत्ता पल्टाउन सकिहालिन्छ कि भनी सुरक्षा प्रबन्ध कमजोर बनाउन लगाएको हुन सक्ने अनुमान पनि गरिएका छन् । 

ब्रासिलिया क्षेत्रका गभर्नर इबानेइस रोचाले विरोधकर्ताहरू हिंस्रक बन्न सक्छन् भन्ने थाहा पाएर पनि पर्याप्त सुरक्षाकर्मी नखटाएको आरोप लागेको छ । त्यसपछि आइतवार नै सर्वोच्च अदालतका न्यायाधीश अलेक्सान्द्रे डे मोराएसले रोचालाई गभर्नर पदबाट ९० दिनका लागि निलम्बन गरेका छन् । 

बोल्जोनारो समर्थकहरूको षड्यन्त्र विफल भएपछि अब सुरक्षाकर्मीहरू नयाँ राष्ट्रपति लुलाको पक्षमा रहने अपेक्षा छ अन्यथा उनलाई सरकार चलाउन गाह्रो पर्नेछ ।

बोल्जोनारो समर्थकहरूले किन सेनालाई हस्तक्षेप गर्नका लागि लगातार पुकारा गरेका हुन् भन्ने विषयमा पनि रोचक कारण छ । बोल्जोनारो आफैं सेनाका पूर्व क्याप्टेन हुन् र उनले सन् २०१८ मा चुनाव जितेदेखि नै सेनासँग निकट सम्बन्ध राखिरहेका थिए । सेनाको शीर्ष तहका अधिकृतहरूले उनीप्रति राजनीतिक सहानुभूति राख्ने गरेको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् । 

अनि ब्राजिलका दक्षिणपन्थीहरू अहिले पनि सन् १९६४ देखि १९८५ सम्म चलेको सैनिक शासनको स्नेहपूर्वक सम्झना गर्छन् अनि त्यो फर्किए हुन्थ्यो भनी कामना गर्छन् । ती दक्षिणपन्थीहरूका प्यारा नेताका रूपमा उदाएका बोल्जोनारो पनि इतिहासको त्यो कालखण्डलाई बारम्बार सम्झना गर्ने गर्थे । नवनिर्वाचित राष्ट्रपति लुलाले चाहिँ तत्कालीन सैन्य शासनको विरोध गरेकोमा कैद सजाय बेहोरेका थिए । 

अनि ब्राजिलका दक्षिणपन्थीहरू अहिले पनि सन् १९६४ देखि १९८५ सम्म चलेको सैनिक शासनको स्नेहपूर्वक सम्झना गर्छन् अनि त्यो फर्किए हुन्थ्यो भनी कामना गर्छन् । ती दक्षिणपन्थीहरूका प्यारा नेताका रूपमा उदाएका बोल्जोनारो पनि इतिहासको त्यो कालखण्डलाई बारम्बार सम्झना गर्ने गर्थे । नवनिर्वाचित राष्ट्रपति लुलाले चाहिँ तत्कालीन सैन्य शासनको विरोध गरेकोमा कैद सजाय बेहोरेका थिए । 

तर बोल्जोनारो समर्थकहरूको बिन्तीका बावजूदका सेनाले राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्न मानेको छैन । सैन्य शासनको बेलामा मुलुकमा आर्थिक अव्यवस्था आएर जनतामा चरम असन्तुष्टि छाएको तीतो यथार्थलाई मनन गर्दै सेनाले राजनीतिक हस्तक्षेपबाट टाढै रहने मनस्थिति बनाएको बुझिन्छ । संविधानले पनि सेनालाई राजनीतिबाट टाढै रहन निर्देशन दिएको छ ।

त्यसैले सेनाको साथ नपाएका अनि नयाँ सरकारले पनि कठोर कारवाही गर्ने भनेका बोल्जोनारो समर्थकहरूलाई अप्रिय यथार्थ पचाउनुको विकल्प छैन ।

अमेरिकामा ट्रम्प र ब्राजिलमा बोल्जोनारो जस्ता लोकरञ्जनवादी राजनीतिकर्मीहरूको अल्पकालिक उदय तथा बेइज्जतीपूर्वक अवसानले त्यस मार्काको राजनीतिको आयु सकिँदै गएको संकेत दिएको छ । दक्षिणपन्थी लोकरञ्जनवादीहरू जनतालाई ध्रुवीकृत गर्दै बफादारहरूको फौज तयार पार्न त सफल हुने तर शासन गर्ने ढंग उनीहरूसँग नभएको पनि अमेरिका र ब्राजिलका प्रकरणले प्रमाणित गरेका छन् । 

वामपन्थी राष्ट्रपति लुलाको आगमनले ब्राजिललाई प्रगतिको बाटोमा डोहोर्‍याउने अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्