१५ असार २०८३, सोमबार

इतिहासको झलक दिने जीवन्त नाट्यकृति

कात्तिक २०, २०७४
इतिहासको झलक दिने जीवन्त नाट्यकृति

जङ्गबहादुरको उदयले राणाकालीन नेपालको थालनी गरायो भने १०४ वर्षपछि मोहनशम्शेरको पालामा त्यसको अन्त्य गरायो; भनौं मोहनशम्शेरले अन्त्यकाललाई देख्नु,बेहोर्नु नै प-यो । यसैलाई २००७ सालको परिवर्तन भन्ने गरिएको छ ।

रोलक्रमले श्री ३ महाराज बन्ने क्रमका देवशम्शेर र पद्मशम्शेरले आ-आफ्नो कार्यकालमा केही उदार सोच र व्यवहार देखाए भनिन्छ । चन्द्रशम्शेर चतुर र देशको भौतिक विकासमा धेरथोर रुचि भएका शासक मानिन्छन् । समग्रमा भने राणा शासकहरूले  नेपालका जनतालाई आफ्ना रैतीभन्दा माथिको दर्जामा राखेनन् ।

नागरिक हक, अधिकारबाट सदैव वञ्चित गराए । त्यही नीति र व्यवहारले जागरुक केही युवकलाई विद्रोही बनायो—जुध्दशम्शेरको हुकुमी शासनका बखत । सीमापारि अङ्ग्रेजको उपनिवेश थियो, तिनकै आडमा यहाँका राणाहरू सत्तामा कब्जा जमाएर बसेका थिए । तर तिनको अन्त्यको शुरू टाढा थिएन ।

टङ्कप्रसाद आचार्य, धर्मभक्त, दशरथ चन्द, गङ्गालाल, शुक्रराज शास्त्री समेतका युवकले जनजागरणको भूमिगत अभियान सञ्चालन गरेका थिए । तर शासकका सुराकीहरूले जनमुक्तिको आन्दोलनलाई कुल्चिने तारतम्य मिलाइदिए । विद्रोही युवकहरू पक्राउमा परे, तिनमाथि देशद्रोहको मुद्दा चलाइयो । जुध्दशम्शेरको एकतर्फी फैसला आयो, र चारजना युवक मृत्युदण्ड पाउनेमा परे ।

टङ्कप्रसाद र रामहरि शर्मा ब्राह्मण भएको हुनाले प्राणदण्डबाट जोगिए तर तिनको सर्वस्वहरण भयो र मुडिएर दामल हुने सजाय पाउनेमा परे । अन्य धेरै युवकहरूलाई कठोर कारावासको सजाय ठेकियो ।

नेपालका वैधानिक राजा श्री ५ त्रिभुवन थिए तर प्रजातन्त्रका लागि संघर्षरत युवाहरूप्रति सहानभूति भए तापनि उनको जोड चलेन; चल्ने अवस्था थिएन । र, वि.सं. १९९७ साल माघमा चार वीर युवकहरूको जीवनलीला समाप्त भयो । ती शहीद भए ।

त्यही ९७ सालको घटना-प्रसङ्गलाई सूब सेनले ‘शहीदको रगत’ नाटकको विषयवस्तु बनाएका छन् । नेपाली समाजको अहिलेको पुस्ताले ८०-९० वर्षअघिको इतिहासलाई समेत बिर्सिन लागेका बखत नाटक-कृतिका लेखकले जीवन्त बनाइदिएका छन् ।

इतिहास निकट विगतको भएको हुँदा लेखकलाई पात्र र स्थानहरूको चित्रण गर्न सजिलो परेको छ । पाठकलाई इतिहास छाम्न सहज हुने पक्कै छ । मञ्चनको चाँजो मिल्दा त सुनमा सुगन्ध हुने निश्चित छ । यस हरफको लेखकले सर्सर्ति हेर्दाको अनुभूति यही हो ।

समकालीन नेपाली साहित्यको नाटक विधामा परिचित व्यक्तित्व मानिने अशेष मल्लले ‘शहीदको रगत’ लाई बेजोडको नाट्यकृति भनेका छन्—पुस्तककै मन्तव्यखण्डमा ।

बालकृष्ण सम र भीमनिधि तिवारीका कृतिहरू पछि एकप्रकारको सन्नाटा छाएको नेपाली नाटक विधामा सूब सेनको रचनाले हलचल ल्याएको उनको ठम्याइ छ । त्यस्तै, डा. देवीप्रसाद सुवेदीको समीक्षात्मक आलेखको निचोड पनि एकै किसिमको देखिन्छ । टङ्कप्रसादबारे पुस्तक लेखेका लेखक अरविन्द रिमालको मूल्याङ्कन पनि मिल्दोजुल्दो नै पाइन्छ ।

प्रकाशक : गुल्मेली समाज, काठमाडौं

प्रकाशन: २०७३ रामनवमी

पृष्ठ: २४८ ‌+

मूल्य : तीनशय रूपिञा


 ----ध्रुवहरि अधिकारी

salt training

कमेन्ट गर्नुहोस्