
चल्छन् कालसमान रात र दिनै ऽ खेलै रचेझैँ यहाँ
फेर्दै काख हिँड्छन् ऋतुहरू सबै ऽ यो मञ्चभित्रै महा
बग्छन् आयु नदीसमान गतिमा ऽ रोकिन्न कतै क्षण
कोर्दै छन् घडीका सियोहरू यहाँ ऽ यात्रा अनौठो कन
२.
केही छैन सधैँ अडिने स्थिर यो ऽ संसार नै नष्ट छ
हिजो वैभव जे थियो उदय त्यो ऽ आजै स्मृति बन्दछ
भोलि धूलिमै मिल्छ गौरव सबै ऽ जो आज चम्किरहे
लाग्छन् स्वार्थमयी सदा मनमहाँ ऽ पापी प्रवृत्ति रहे
३.
हेर्छन् लोभमयी गिद्धझैँ नजरले ऽ अर्कै तिरै भागमा
रित्तै हात सदा जानु छ सबको ऽ यो अन्त्यको मोडमा
जाँदैनन् पद यो न त यो मुकुट नै ऽ सँगै कतै साथमा
साक्षी बस्छ सदा सत्कर्म केवल ऽ स्वर्णिम यो गाथामा
४.
भागबन्डा गरी चल्छ तेरो र मेरो ऽ स्वार्थी छ संसार
खस्छन् ती हक हुन्न न्याय कहिल्यै ऽ देखिन्छ अत्याचार
खोज्दै ती अधिकार थाक्छ मनुवा ऽ बिर्सिन्छ कर्तव्य नै
क्षण मै यो बदलिनेछ र कता ऽ हराउँछ मानवता नै?
५.
संसारै कति चल्छ यो अद्भुत झैँ ऽ उकालो चढ्ने धुन
इन्द्रकै पद पाउन कति सधैँ ऽ मरिहत्ते गर्ने जन
आफ्नै लोभ र मोह ती अहम्मा ऽ जित्ने पो हो विजयी
संसारै जित्ने बन्छ वीर ऊ ऽ जो बन्छ महाविजयी
६.
फेरिन्छन् दिन रात यी समय नि ऽ बिहान आउँछ यहाँ
धन्यै बन्दछ त्यो महान् जीवन नै ऽ यो जुनीभित्र महाँ
चाहिँदैन सिंहासन कति उसलाई ऽ त्यागेर जानु छ सबै
जित्छ मानवता सुवास छर्दै ऽ यो मन जित्छ जहिलै
छन्द: शार्दूलविक्रीडित
– राजेन्द्रकुमार घिमिरे
ठेगाना: सुर्यविनायक नगरपालिका-१, बिरुवा, भक्तपुर ।