०३ साउन २०८३, आइतबार

पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक

असार २२, २०८३
भरतपुर
पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक

पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी ‘एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । 

पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजित कार्यक्रममा गरिएको छ । 

लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरे ।

विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्‍याउँछन् ।

उनले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत् प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए ।

कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष सापकोटाले संवाद गरेका थिए । संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण साथै स्वागत अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए ।

‘नैबेद’मा १४ वटा कथा समेटिएका छन् । पुस्तकको मूल्य ५९५ रूपैयाँ निर्धारण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्