
ऊ जलिरहेको छ
आफ्नै देशको आकाशमुनि
न्यायको ढोका बन्द भएपछि
आफ्नै शरीरलाई उज्यालो पार्दै
तर शहर ?
शहर त गोलको उत्सवमा
मस्त छ ।
गणेश जलेको नदेख्ने सेलिब्रेटीका औँलाहरू
विदेशीका गोल गन्न व्यस्त छन् ।
तर तिनले आगोले कोरिएको
गणेशको अनुहार हेर्ने फुर्सद नै पाएनन् ।
तर देश ?
देश त अझै गोल गन्न व्यस्त छ ।
सेलिब्रेटिका शब्दहरू
विदेशीले खेल जित्दा तुरुन्त जन्मिछन्
तर गणेश जल्दा
उनीहरूको संवेदना पनि सायद नेटवर्क बाहिर पुग्छ ।
आज गणेश जलिरहेको छ
भोलि कसको पालो ?
यदि राज्यले
नागरिक जलेको देखेन भने
त्यहीँ आगो एकदिन
शासकको चिहान कोर्न सक्छ ।
यहाँ गणेशको शरीर मात्र जलेको छैन
हरेक देशभक्त नागरिकको मन जलेको छ
इतिहासले फेरि लेख्नेछ
गणेश जलिरहेको थियो,
तर धेरैलाई गोलको चर्चा गर्न
कति हो कति भ्याइनभ्याई थियो ।