०४ साउन २०८३, सोमबार
प्रदेश सरकारबारे कांग्रेस सभापति

प्रदेशमा तीन दलको सरकार बनाउनु जनादेशविपरीत हुन्छ- गगन थापा

साउन ३, २०८३
काठमाडौं
प्रदेशमा तीन दलको सरकार बनाउनु जनादेशविपरीत हुन्छ- गगन थापा
फाइल तस्वीर ।

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा तीन दल मिलेर सरकार बनाउने अभ्यास जनादेशविपरीत हुने बताएका छन् ।

आइतबार ललितपुरको नखिपोटमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ विषयक साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले तीन दल मिलेर प्रदेश सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे ।

उनले सरकारमा सहभागी हुनु मात्रै राजनीतिक दलको उद्देश्य हुन नहुने उल्लेख गर्दै सत्तालाई नै सबैथोक मान्ने सोचले नेपाली कांग्रेससहित पुराना राजनीतिक दलहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पारेको बताए ।

‘एउटासँग मिलेर चुनाव लड्यौं, चुनावपछि अर्कोसँग सरकार बनायौं । को सरकार पक्ष हो, को प्रतिपक्ष हो भन्ने अवस्था नै रहेन’, उनले भने, ‘आज बिहानसम्म सत्ता पक्षमा रहेको भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको सत्ता पक्ष बन्ने अवस्था सिर्जना भयो ।’

सभापति थापाले २०७२ सालयता सत्ताकेन्द्रित राजनीतिक अभ्यासका कारण राजनीतिक अस्थिरता बढेको र दलहरूको विश्वसनीयतामा समेत असर परेको धारणा राखे ।

उनले अहिलेको कांग्रेस नेतृत्वले पार्टीका भवन वा अनुहार होइन, सोच र प्राथमिकता परिवर्तन गर्न खोजेको बताए । ‘हामीले बदल्ने भनेको हाम्रो सोच्ने तरिका र प्राथमिकता हो’, थापाले भने ।

थापाले पार्टीका संस्थापक तथा अग्रज नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर राणालगायतले कठिन परिस्थितिमा पार्टी सञ्चालन गरेको अनुभवबाट सिक्दै कांग्रेसलाई आगामी पुस्ताले गर्व गर्ने पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘अझ गाउँ-गाउँमा हुनुहुन्छ, साना-साना नेताहरू पनि हुनुहुन्छ । जिल्ला-जिल्लामा हुनुहुन्छ । उहाँहरूले हिजो अप्ठ्यारो बेलामा नेपाली कांग्रेस पार्टी जसरी चलाउनु भएको हो, त्यसबाट सिकेर यो बेलामा नेपाली कांग्रेस पार्टी त्यसरी मात्रै चलायौं भने हामीले आगामी पुस्ताका निम्ति सबैभन्दा गौरव गर्ने पार्टी कांग्रेसलाई बनाउन सक्छौं’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्