०५ साउन २०८३, मंगलबार

वरिष्ठ स्रष्टा गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति लोकार्पित

असार २८, २०८३
काठमाडौं
वरिष्ठ स्रष्टा गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति लोकार्पित

नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ स्रष्टा गोपी मैनालीको ‘विचार र विचरण’ नामक समालोचनात्मक अन्वेषण कृति लोकार्पण गरिएको छ।

काठमाडौंको नयाँबानेश्वरमा आयोजित एक भव्य कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक डा. अभि सुवेदीले गोपी मैनालीको ‘विचार र विचरण’ ले नेपाली समालोचनाको क्षेत्रमा छुट्टै मानक स्थापित गरेको बताए। 

समालोचनाका लागि सिर्जनात्मक चेत आवश्यक पर्ने आफ्नो बुझाइलाई मैनालीको कृतिले सटिक जवाफ दिएको भन्दै उनले पूर्वीयदेखि पश्चिमी साहित्यको अध्ययन, अन्य विधा र उपविधाको ज्ञान तथा बहुआयामिक चिन्तन प्रक्रियाले समालोचनाको सिर्जनात्मक धारलाई स्थापित गरेको र नेपाली समालोचनामा विशिष्ट स्थान बनाएको उल्लेख गरे।

 उनले कृति निकै गहन रहेको, ज्ञानले अधिकार (अथोरिटी) जन्माएको र त्यसलाई कायम राख्ने जिम्मेवारी मैनालीले सधैं लिनुपर्ने बताए। स्वास्थ्य समस्या हुँदाहुँदै पनि आफूलाई यस्ता गहन कृति मन पर्ने भएकाले कार्यक्रममा आएको उनले बताए।

कृतिका समीक्षक प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले कृति उत्कृष्ट रहेको, विचार र विचरण दुवै पक्ष सशक्त रहेको तथा समकालीन समालोचनामा यसले अन्य समालोचकलाई चुनौती दिएको बताए। उनले ‘विचार’ र ‘विचरण’ लाई दुई भागमा विभाजन गरिएको भए अझ बढी प्रभावकारी हुने धारणा राखे।

अर्का समीक्षक पत्रकार तथा स्रष्टा वसन्त बस्नेतले कृति निकै गहन र एकैसाथ धेरै विषय समेटिएको भएकाले पढ्दा पाठक कतिपय ठाउँमा हराउन सक्ने सम्भावना रहेको बताए।

null

सभामा प्राज्ञ दिनेशराज पन्तले सार्वजनिक व्यवस्थापनमा जस्तै समालोचनामा पनि गोपी मैनालीले मौलिक पहिचान र छवि कायम गरेको बताए। उनले प्रज्ञा र प्रतिभा भएको व्यक्ति आफ्नो क्षमताकै बलमा जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट बन्न सक्ने कुरा मैनालीको व्यक्तित्व र कृतिबाट पुष्टि भएको उल्लेख गरे। मैनालीको नैतिक, सिर्जनात्मक र सहृदयी बौद्धिक व्यक्तित्व कृतिको प्रज्ञाकारितामा प्रतिबिम्बित भएको उनको भनाइ थियो।

लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं कृतिकारका दाजु उमेशप्रसाद मैनालीले परिवार र भाइका विषयमा बोल्दै यो विशाल उपस्थितिले गोपी मैनालीको प्रतिभा र लेखनकला स्थापित भएको प्रमाणित गरेको बताए। यसबाट आफू निकै गौरवान्वित भएको उनले उल्लेख गरे।

कृतिकार गोपी मैनालीले ‘विचार र विचरण’ सिर्जनामाथिको पुनःसिर्जना भएको बताए। उनका अनुसार सिर्जनामा विचारसहितको विवेचना, समालोचनासहितको अन्वेषण र फराकिलो दृष्टिकोण प्रस्तुत गरिएको छ। साहित्यको गरिमा उकास्ने र समालोचनालाई पुनर्बोधतर्फ लैजाने उद्देश्य पनि कृतिमा समेटिएको उनले बताए।

कार्यक्रममा सम्पूर्ण राष्ट्रसेवकका तर्फबाट पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामबाबु नेपाल, भाषा–संस्कृतिका तर्फबाट भाषा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव डा. लवदेव अवस्थी, साहित्यिक संघसंस्थाका तर्फबाट वरिष्ठ कवि कलानिधि दाहाल तथा ग्लोबल डायस्पोरा नेटवर्कका तर्फबाट एनपीआई ग्लोबल नेटवर्ककी कार्यकारी सदस्य शरु जोशी श्रेष्ठले गोपी मैनालीलाई शुभकामना दिँदै ‘विचार र विचरण’ का विविध आयामबारे धारणा राखे।

मकालु ग्रुपका अध्यक्ष बासुदेव ढकालको सभापतित्व तथा कवि ठाकुर बेलबासेको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सुष्मा पण्डित मैनालीले राखिन् भने धन्यवाद ज्ञापन वरिष्ठ स्रष्टा युवराज मैनालीले गरे।

बटुकहरूको वैदिक गायनसमेत समावेश कार्यक्रममा पूर्वप्रशासक, वरिष्ठ तथा उदीयमान साहित्यकार, प्राज्ञ, प्राध्यापक, पत्रकार र सामाजिक जीवनमा ख्याति कमाएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लोकार्पित कृति ‘विचार र विचरण : समालोचनात्मक अन्वेषण’ मा ईसापूर्व चार हजार वर्षअघिदेखि वर्तमानसम्म, ढुंगे युगदेखि एआई युगसम्मका करिब एक हजारभन्दा बढी स्रष्टा, तिनका सिर्जना र विचारको विश्लेषण तथा अन्वेषण गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्