२५ असार २०८३, बिहीबार
राहुल गान्धीको देश दौडाहा

भारत जोडो यात्रा : कांग्रेस आईको गिर्दो साख फर्काउन सफल भएका हुन् राहुल गान्धी ?

माघ ८, २०७९
भारत जोडो यात्रा : कांग्रेस आईको गिर्दो साख फर्काउन सफल भएका हुन् राहुल गान्धी ?

भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । आज १२६औं दिनमा उनी कश्मीरमा यात्रा गरिरहेका छन् । 

यस यात्राबाट मरणासन्न कांग्रेस पार्टीलाई पुनर्जीवन दिने राहुलको लक्ष्य देखिन्छ । तर भारतीय विश्लेषकहरू पार्टी भन्दा पनि राहुल स्वयंको छवि चाहिँ यात्राले उकासेको बताइरहेका छन् । 

विगत १५ वर्षदेखि कांग्रेस पार्टीले राहुललाई सर्वमान्य राष्ट्रिय नेताका रूपमा उभ्याउन विभिन्न प्रयास गर्दै आएको छ । तर ती कुनै पनि प्रयास सफल हुन सकेका थिएनन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको छवि जबर्जस्त रूपमा भारतीय चेतनामा छाइरहेको परिस्थितिमा उनको विकल्पका रूपमा अर्का एक नेताको उपस्थिति लोकतन्त्रको स्वास्थ्यका लागि समेत जरुरी भइसकेको अनुभव गर्न थालिएको थियो ।

सामन्तवादी चाकरीप्रथा तथा सशक्त एजेन्डाविहीनताका कारण जर्जर अवस्थामा पुगिसकेको कांग्रेसलाई उकास्नका लागि कुनै सार्थक प्रयास गर्नैपर्ने अवस्था आएको थियो । त्यसलाई विचार गरी राहुलले देशका विभिन्न भागमा पदयात्रा गरेर धरातलीय यथार्थ बुझ्ने अनि कांग्रेसलाई पुनः जनताको मनमा स्थापित गर्ने योजना बनाएको देखिन्छ । 

उनले यसक्रममा देखाएको सादगीको चौतर्फी प्रशंसा भइरहेको छ । सत्तारूढ भारतीय जनता पार्टीले राहुललाई पप्पु भनी राजनीतिक सिकारु तथा मन्दबुद्धि भएको व्यक्तिका रूपमा प्रचार गर्दै आएको भए पनि यस यात्राले राहुलको त्यो अपमानजनक छवि चाहिँ अन्त्य गरेको देखिन्छ । 

सन् २०२२ अक्टोबर २ मा कर्नाटकको मैसुरमा राहुलले पानीमा रुझ्दै गरेको सम्बोधनलाई मानिसहरूले सकारात्मक रूपमा लिएका थिए । त्यसको चार दिनपछि राहुलकी आमा सोनिया गान्धी पनि यात्रामा सहभागी हुनका लागि कर्नाटकको मान्ड्या पुग्दा राहुलले झुकेर आमाको जुत्ताको लेस बाँधेको दृश्यले पनि मानिसहरूलाई प्रभावित पारेको थियो । 

भारतमा राष्ट्रिय स्वयंसेवक संघ तथा भारतीय जनता पार्टीले घृणाको वातावरण निर्माण गरिरहेको र यसैमार्फत भारतको मन विभाजन गरेको भाष्य राहुलले स्थापित गर्न खोजेका छन् । त्यसलाई विफल बनाउनका लागि आफू भारत जोडो यात्रामा निस्किएको उनको भनाइ छ । 

भारत जोड्ने कामलाई चरितार्थ गर्ने हेतुले राहुलले कर्नाटकको मान्ड्यामै सन् १९९३ देखि बन्द रहेको एक सडक खुलाए अनि त्यसलाई भारत जोडो सडक नाम दिए । उक्त सडक जातका विषयमा भएको हिंसापछि बन्द गरिएको थियो । 

यस यात्राबाट मरणासन्न कांग्रेस पार्टीलाई पुनर्जीवन दिने राहुलको लक्ष्य देखिन्छ । तर भारतीय विश्लेषकहरू पार्टी भन्दा पनि राहुल स्वयंको छवि चाहिँ यात्राले उकासेको बताइरहेका छन् । 

अनि त्यही ठाउँमा हिन्दूवादी भनिएका मानिसले सन् २०१७ मा पत्रकार गौरी लंकेशको हत्या गरेका थिए । राहुलले यात्राका क्रममा गौरीकी आमा इन्दिरा र बहिनी कविताको हात समातेर हिँडेका थिए । 

केरलमा बालकहरूसँग फूटबल खेलेर, अपांग बालकसँग हातमा हात राखी यात्रा गरेर, मध्य प्रदेशमा बाइक चढेर, उत्तर भारतको जाडोमा पनि हाफ टीशर्टमा घुमेर राहुलले आफूलाई जिम्मेवार, गम्भीर र साथसाथै जनतासँग घुलमिल गर्न सक्ने धरातलीय नेताका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् । राजनीतिमा खुलेर प्रस्तुत हुन नचाहने तथा अनिर्णयको बन्दी बनिरहने भनी राहुलको नकारात्मक छवि बनेकोमा यस यात्राले त्यसलाई चिर्ने काम गरेको छ । मोदीले भन्ने गरेको नामदार (वंशीय परम्पराका नेता) मात्र नभई आफू कामदार नेता भएको भाष्य उनले बनाउन खोजेको देखिन्छ ।  

तर यसले पार्टीलाई पुग्ने फाइदाका विषयमा प्रशस्त शंका व्यक्त गरिएको छ । पार्टीका कतिपय नेताहरू आफूलाई निर्णायक प्रक्रियामा समावेश नगरिएको र आफूसँग सरसल्लाह नगर्ने गरिएको भनी राहुलसँग अझै पनि असन्तुष्ट छन् । यात्राको निर्देशक सिद्धान्त तथा यात्राले पार्टीमा ल्याउन सक्ने परिवर्तनका बारेमा उनीहरू आश्वस्त देखिँदैनन् । 

भारत जोडो यात्राकै क्रममा गुजरातमा गत डिसेम्बर महिनामा भएको विधानसभा निर्वाचनमा कांग्रेस पार्टीले अत्यन्तै लज्जास्पद प्रदर्शन गरेको छ । कुल १८२ सीटमध्ये कांग्रेसले जम्मा १७ सीट जितेको थियो । राहुल लगायतका शीर्ष कांग्रेसी नेताहरूले गुजरातमा पर्याप्त ध्यान नदिएकाले यो स्थिति आएको बताइएको छ । 

त्यसो त हिमाचल प्रदेशमा ४० सीट जितेर कांग्रेसले सुविधाजनक बहुमत ल्याएकै हो । तर त्यो विजय भारत जोडो यात्राका कारण भन्दा पनि भाजपाविरुद्धको लहरले सम्भव भएको बताइएको छ । 

जे होस्, राहुलले यस यात्रामार्फत आरएसएस–भाजपाविरुद्ध पार्टीको विचारधारा थप आक्रामक बनाउने छाँट देखाएका छन् । यसअघि उनले प्रधानमन्त्री मोदीमाथि व्यक्तिगत आक्रमण गरी ‘चौकीदार चोर है’ जस्ता नारा दिँदा कांग्रेसीहरूले नै असहज अनुभव गरेका थिए । तर अब आरएसएसविरुद्ध दृढ अडान लिनका लागि राहुलले कांग्रेस कार्यकर्ताहरूका लागि लक्ष्मणरेखा नै खिचिदिएका छन् । 

आरएसएस तथा हिन्दूत्वको राजनीतिको कटु आलोचना गर्ने क्रममा राहुलले महाराष्ट्र पुग्दा वीर सावरकरलाई पनि बाँकी राखेनन् । सावरकरले भारत स्वतन्त्र हुनुअघि बेलायती उपनिवेशीहरूलाई क्षमायाचना पत्र लेख्दै महात्मा गान्धी, जवाहरलाल नेहरु र सरदार पटेललाई धोका दिएको आरोप राहुलले लगाए । 

तर सावरकरको आलोचनालाई मराठीहरूमाथिको आक्रमणका रूपमा लिएर बालासाहेबान्ची शिवसेनाकी नेता वन्दना डोंग्रेले उनीविरुद्ध प्रहरीसमक्ष जाहेरी दायर गरेकी छन् । अनि राहुलको बयानलाई महाराष्ट्रमा कांग्रेससँग कुनै बेलामा सत्ता चलाएको शिवसेनाले पनि सकारात्मक रूपमा लिएको थिएन । 

त्यसैले हिन्दूत्वको विरोध गर्ने क्रममा भाषिक समुदायको संवेदनशीलतालाई पनि विचार गर्नुपर्ने चुनौती राहुलले अनुभव गरेको हुनुपर्छ । खैर, आरएसएसविरुद्धको आक्रमण तीव्र बनाएर राहुलले कांग्रेस पार्टीको अबको रणनीति आरएसएस–भाजपासँगको सांस्कृतिक लडाइँ हुने संकेत दिएका छन् । 

यस सांस्कृतिक लडाइँसँगै उनले भाजपाद्वारा अपनाइएको नवउदारवादी आर्थिक नीतिको विरुद्धमा पनि कांग्रेसलाई दह्रो गरी उभ्याउने लक्ष्य यस यात्रामार्फत लिएका छन् । धेरै अगाडिदेखि नै राहुलले मोदीलाई सुटबुट की सरकार, अम्बानी–अडाणी सरकार भनी आलोचना गर्ने गरेका थिए । 

अघिल्लो साता मात्र उनले अक्सफ्यामको ताजा प्रतिवेदनलाई उद्धृत गर्दै केही अर्बपतिहरूको हातमा भारतको ४० प्रतिशत सम्पत्ति रहेको बताए अनि ती धनीहरूलाई मोदी सरकारले प्रश्रय दिइरहेको आरोप लगाए । गरीबको पक्षमा मोदी सरकारले नीति नबनाएको अनि महंगी नियन्त्रण पनि गर्न नसकेको र रोजगारी सिर्जना गर्न पनि असफलता पाएको भनी उनले कटु आलोचना गर्दै आएका छन् । 

अब यस यात्रामार्फत राहुलले कांग्रेस पार्टी मध्यमार्गमा सीमित नरही वामपन्थतर्फ ढल्कँदै आक्रामक रूपमा गरीबपक्षीय हुनुपर्ने संकेत दिन खोजेको बुझिन्छ । हुन त भारतको केन्द्रीय बैंक आरबीआईका पूर्व गभर्नर रघुराम राजनसँग यात्राकै क्रममा आर्थिक वार्ता गरेर उनले आफू ठूला व्यापारिक घरानाको विपक्षमा नरहेको सन्देश प्रवाह गर्न खोजेका थिए । 

अनि वामपन्थीहरूले जस्तो बजारलाई राज्यको नियन्त्रणमा राख्नुपर्ने सोच पनि आफूले नबनाएको उनको भनाइ छ । तर निर्धनको पक्षमा नीति बनाउनका लागि उनले जोड दिएर पार्टीलाई वामपन्थी दिशामा लग्न चाहेको चाहिँ देखिन्छ । 

मोदी सरकारलाई आसेपासे पूँजीवादको प्रश्रयकर्ता भनी आक्षेप लगाए पनि सरकारले प्रधानमन्त्री आवास योजना र उज्ज्वला योजना लगायतका कल्याणकारी योजनालाई डिजिटल पारदर्शितासहित वितरण गरिरहेको तथ्यलाई राहुलले झूटो साबित गर्न सक्दैनन् । 

यात्राका क्रममा राहुलले कांग्रेस पार्टीमा परिवर्तन आएको र पहिलेको जस्तो केन्द्रीकृत नेतृत्व तथा निर्णय नचल्ने बताए । पार्टीका बारेमा पत्रकारहरूले प्रश्न सोध्दा उनले अध्यक्ष मल्लिकार्जुन खडगेलाई सोध्न भनेर पार्टीमा विकेन्द्रीकरण भित्र्याइएको संकेत दिन खोजेका थिए । 

राहुल गान्धीको भारत जोडो यात्रा कत्तिको सफल भयो भन्ने कुराको मूल्यांकन सन् २०२३ मा हुने विभिन्न विधानसभा निर्वाचनले गर्नेछन् । कर्नाटक, मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा हुन लागेको विधानसभा निर्वाचनमा कांग्रेसले बलियो प्रदर्शन गरेछ भने राहुलको यस यात्राले असर गरेको रहेछ भन्न सकिएला । 

तर खडगे पनि गान्धी परिवारको निकटवर्ती भएकाले उनलाई अध्यक्ष बनाइएको र अलि स्वतन्त्र विचार राख्ने शशी थरूरलाई हराइएको कुरा जल्दोबल्दो सत्य हो ।

गान्धी परिवारको निकट भएकै कारण राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पार्टीको अनुशासन भंग गर्दै गुटको छुट्टै भेला बोलाएको भए पनि उनलाई कारवाही गरिएको थिएन । अनि हिमाचल प्रदेशमा सुखविन्दर सिंह सुखुलाई मुख्यमन्त्री बनाउनका लागि पनि गान्धी परिवारले नै जोड दिएको थियो जबकि उक्त राज्यमा ६ पटक मुख्यमन्त्री बनेका वीरभद्र सिंहकी पत्नी प्रतिभा सिंह दौडमा थिइन् ।

यस्तो अवस्थामा जतिसुकै विकेन्द्रीकरणको कुरा गरे पनि पार्टीको सर्वेसर्वा वस्तुगत रूपमा अहिले पनि गान्धी परिवार नै हो । गान्धी परिवारको यही हालीमुहालीका कारण पार्टी संगठन कमजोर बनेर सशक्त नेताको उदय हुन रोकिरहेकाले पार्टी लगातार पराजित हुँदै गएको कटुसत्य हो । यस्तो स्थिति कायम रहेमा नेता तथा कार्यकर्तामा जन्मिन सक्ने वितृष्णालाई राहुलले कसरी सम्बोधन गर्ने हुन्, त्यो हेर्न बाँकी छ । 

राहुल गान्धीको भारत जोडो यात्रा कत्तिको सफल भयो भन्ने कुराको मूल्यांकन सन् २०२३ मा हुने विभिन्न विधानसभा निर्वाचनले गर्नेछन् । कर्नाटक, मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा हुन लागेको विधानसभा निर्वाचनमा कांग्रेसले बलियो प्रदर्शन गरेछ भने राहुलको यस यात्राले असर गरेको रहेछ भन्न सकिएला । 

त्यसो त राहुलले आफ्नो यात्रा चुनावी सफलताका लागि भन्दा पनि भारतलाई एकताबद्ध गर्नका लागि भइरहेको भनी आदर्श कुरा गरेका छन् । तर राहुलले भने जस्तो भारत अहिले धर्मका नाममा विभक्त भएको छ भने मोदी सरकारलाई अपदस्थ गराएर कांग्रेस सत्तामा आएमा मात्र एकताबद्ध गराउने नीति अवलम्बन गराउन सक्नेछ । त्यसर्थ, यस यात्राले कांग्रेसलाई सत्तामा पुर्‍याउन नसकेमा यसको औचित्यमाथि प्रश्न उठाउन सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्