
केही दिनयता सामाजिक सञ्जालमा निकै छाएको छ गजल गीत ‘के लत बस्यो...’ ।
यस गजलमा हजारौंले टिकटक भिडियो बनाएका छन् । युट्युबमा गजलले लाखौं भ्युज पाएको छ ।
डा. प्रदीप कुमार मैनाली र तिलकसिंह पेलाको गजलको भ्युज सुरुवाती दिनमा भने निकै कम थियो ।
सोमवार बिहानसम्म गजलको युट्युब भ्युज २२ लाख प्लस पुगिसकेको छ ।
गजल गीत जब स्रोता एवं दर्शकहरुको कान र आँखामा पर्दै गयो, उनीहरूले खुलेर तारिफ गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गर्न थाले ।
थुप्रै चर्चित कलाकारहरूले समेत गजललाई शब्द, संगीत र स्वरको त्रिवेणी भन्दै आफ्नो फेसबुक वालमा सेयर गरे । हजारौं स्रोता एवं दर्शकले टिकटक भिडियो बनाए । अनि विस्तारै गजलको भिडियोले युट्युबमा निकै राम्रो भ्युज पाउँदै गएको हो ।
डा. प्रदीप कुमार मैनालीको रचना रहेको गजललाई तिलक सिंह पेलाले संगीत र स्वर दिएका हुन् ।
रिदम कँडेलले गजलको एरेन्ज गरेका हुन् । कुनै तामझामबीना रेकर्डिङ स्टुडियोमा नै भिडियोको छायाँकन गरिएको थियो । तिलकसिंह आफै भिडियोमा प्रस्तुत छन् । यस गजलमा चलेका थुप्रै कलाकारहरुले टिकटक भिडियो बनाएका छन् । चर्चित गायक रामकृष्ण ढकालदेखि अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौलासम्मले उक्त गजलमा टिकटक बनाएका छन् ।
पूर्व मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा, कलाकार कुमार कट्टेल, अभिनेत्री लक्ष्मी वर्देवा, गायिका देवीघर्ती लगायतका थुप्रैले उक्त गजलमा टिकटक भिडियो बनाएका छन् ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । यसअघि पनि उनका केही गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए । यद्यपि, उनी लामो समयपछि फेरि एकपटक गजल गीतमार्फत चर्चामा आएका हुन् । पछिल्लो समय भिडियोमा एकदमै तामझाम हुने तर अडियोमा हुनुपर्ने मेहनत घटेको गुनासो बढ्दै गएको छ ।
तामझामबीना तयार गरिएको ‘के लत बस्यो...’ गजलले चर्चा पाएसँगै भने गीतमा अडियो पक्ष नै बलियो हुनुपर्ने पुष्टि भएको कलाकारहरूले बताएका छन् । उक्त गजललाई युट्युबमा समेत निकै राम्रा प्रतिक्रियाहरू आएका छन् ।
गायक पेलाको सामान्य सब्सक्राइबर भएको युट्युबमा भिडियो सार्वजनिक गरिएको थियो । अहिले भने उनको युट्युब सब्सक्राइबर समेत ह्वात्तै बढेको छ ।