
सुदूरपश्चिम क्षेत्रका कला, संस्कृति र चलचित्रको विकासका लागि विकास बोर्ड गठन गर्न माग गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा चलचित्र पत्रकार सङ्घ नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा सरोकार भएकाहरूले चलचित्र विकास बोर्ड जस्ता संरचना बनाएर काम गर्न सरकारलाई आग्रह गरेका हुन्।
वरिष्ठ गायिका डिक्रादेवी गाइनेले सरकारले कला क्षेत्र र कलाकर्मीको सम्मानका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले देउडा, ठाडीभाकालगायत सुदूरपश्चिमका मौलिक गीत–सङ्गीत ओझेलमा परिरहेको भन्दै संरक्षणका लागि सबैलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिइन्।
सङ्घका संस्थापक अध्यक्ष पुष्पराज जोशीले सङ्घीयता कार्यान्वयनको नौ वर्ष भइसक्दा पनि चलचित्र क्षेत्रको विकासका लागि संस्थागत संरचना नबनेको भन्दै असन्तोष व्यक्त गरे। उनले अन्य प्रदेशका अभ्यासलाई अध्ययन गरेर तत्काल विकास बोर्ड गठन गर्न सरकारलाई आग्रह गरे।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले चलचित्र र कला क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई मौलिक संस्कृति र संस्कारसँग जोडिएको विषय भएकाले यसको संरक्षण गर्न अपरिहार्य रहेको धारणा राखे। उनले प्रदेश सरकारलाई चलचित्र, कला, संस्कृतिको माध्यममार्फत पर्यटन प्रवर्द्धन गर्ने नीति लिन आग्रह गरे।