
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफलपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित गरेको हो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाको नवौं नगर सभामा बजेट प्रस्तुत गरेकी थिइन् ।
नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ती मध्येको साउन १ गतेदेखि शुरू हुने चिकित्सकसहितको एम्बुलेन्स, बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो ।’
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरू गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए ।
कार्यक्रमअनुसार बिरामी नगरवासीको उपचारका लागि चिकित्सकसहित एम्बुलेन्स घर-घरमा पुग्छ ।
नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए ।
ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला वर्षहरूमा कार्यान्वयनमा ल्याएको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सीमित स्रोत र साधनका बीच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको बताइन् ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् ।