
फिफा विश्वकप २०२६ अन्तर्गत जारी क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोविरुद्ध २–० को अग्रता बनाएको छ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले लगातार दुई गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको हो।
खेलको ६०औँ मिनेटमा स्टार फरवार्ड किलियन एमबाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। डेजिरे डुवेको पासमा एमबाप्पेले पेनाल्टी क्षेत्रको किनाराबाट गरेको आकर्षक प्रहार सिधै जाली चुमेको थियो। यो विश्वकपमा एमबाप्पेको २०औँ गोल हो।
अग्रता लिएको मात्र ६ मिनेटपछि फ्रान्सले दोस्रो गोल थप्यो। ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले एमबाप्पेको पासलाई सदुपयोग गर्दै बललाई पोस्टको कुनामा छिराएपछि फ्रान्स २–० ले अघि बढ्यो।
पहिलो हाफमा एमबाप्पेले पाएको पेनाल्टी अवसर भने मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाएका थिए। त्यसपछि पनि फ्रान्सले लगातार दबाब कायम राख्दै दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो।
दोस्रो गोलपछि मोरक्कोले सोफियान अम्राबात र सोफियान रहिमीलाई मैदान प्रवेश गराउँदै खेलमा फर्कने प्रयास गरेको छ। यो नतिजा कायम रहे फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ भने मोरक्कोको यात्रा क्वार्टरफाइनलमै टुंगिनेछ।