२७ असार २०८३, शनिबार

मोरक्कोको आशालाग्दो यात्राको निराशाजनक अन्त्य

असार २६, २०८३
काठमाडौं
मोरक्कोको आशालाग्दो यात्राको निराशाजनक अन्त्य

विश्वकप २०२६ को क्वाटरफाइनलमा फ्रान्सविरुद्धको खेलमा मोरक्कोले आफ्नो स्वाभाविक लय समात्न सकेन । विपक्षी फ्रान्समाथि उल्लेख्य दबाब बनाउन नसक्दा उसको निकै आशालाग्दो मानिएको विश्वकप यात्राको सुखद अन्त्य हुन सकेन । 

यद्यपि, यो यात्रा आफैँमा ऐतिहासिक भने थियो। यसै प्रतियोगितामार्फत मोरक्को लगातार दुईवटा विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ । तर, सन् २०२२ को विश्वकपको सानदार प्रदर्शनलाई अझ माथि लैजाने लक्ष्य राखेका मुख्य प्रशिक्षक मोहम्मद ओआहबीको टोलीका लागि यो इतिहास मात्रै तत्कालका लागि चित्त बुझाउने बनेको छ । 

मोरक्को प्रतियोगिताबाट बाहिरिएसँगै विश्वकप २०२६ मा अफ्रिकी महादेशको चुनौती पनि समाप्त भएको छ । मोरक्को अफ्रिकाको अन्तिम प्रतिनिधिको रूपमा मैदानमा थियो । 

क्वाटरफाइनलमा फ्रान्ससँग २–० ले पराजित भएर बाहिरिनु परे पनि मोरक्कन फुटबलको भविष्य भने निकै उज्ज्वल देखिएको छ।

देशमा फुटबल विकासका लागि त्यहाँको सरकारले गरेको ठुलो लगानी र प्रतिबद्धता स्पष्ट रूपमा मैदानमा देखिएको छ । 

सन् २०३० को विश्वकप उत्तर अफ्रिकी मुलुक मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दै छ। घरेलु मैदानमा हुने ऐतिहासिक संस्करणका लागि अहिलेको टोली र त्यहाँको फुटबल संरचनाले ठुलो जग खडा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 
 

कमेन्ट गर्नुहोस्