
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।
मंगलबारबाट शुरु क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा ढकालले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताए।
उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए। नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरू कमी नभएको उनको भनाइ थियो।
नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए।