
टाउकोमा स्मार्टफोन बाँधेर २५ वर्षीया भारतीय गृहिणी नागीरेड्डी श्रीरम्यचन्द्रा भान्सामा आँप काटिरहेको आफ्नो भिडियो खिचिरहेकी छन्। उनी यो काम रमाइलोका लागि गरिरहेकी छैनन्, बरु भविष्यमा घरयासी कामहरू सम्हाल्न सक्ने 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई)द्वारा सञ्चालित रोबोटहरूलाई तालिम दिन यो भिडियो सामग्री तयार पारिएको हो।
यसरी एक घण्टाको भिडियो रेकर्ड गरेबापत उनले २५० भारतीय रुपैयाँ कमाउँछिन्। हेर्दा सामान्य लाग्ने यस्ता दैनिक कार्यका रेकर्डिङहरू विश्वका ठुला प्राविधिक कम्पनीहरूका लागि निकै मूल्यवान् साबित भइरहेका छन्, जसले मेसिनहरूलाई वास्तविक संसारमा मानिस जस्तै गरी कसरी चल्ने वा काम गर्ने भन्ने कुरा सिकाउन मद्दत गर्दछ।
संसारकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा अहिले एआई प्रणालीलाई तालिम दिने यस्ता कामदारहरूको सङ्ख्या हजारौँको रूपमा तीव्र गतिमा बढिरहेको छ, जसमध्ये श्रीरम्यचन्द्रा पनि एक हुन्। तामिलनाडु राज्यको राजधानी चेन्नईस्थित आफ्नै भान्सा कोठाबाट कुरा गर्दै उनले भनिन्, 'घरको सामान्य काम गरेको भरमा मात्रै प्रतिघण्टा २५० रुपैयाँ कसले दिन्छ र ? सायद भविष्यमा म आफैँले पनि यस्तै एउटा रोबोट किन्नेछु।'
अहिले बजारमा रहेका एआई च्याटबोटहरू र इमेज जेनेरेटरहरूले ठुलो मात्रामा डिजिटल तथ्याङ्क (डाटा)हरू प्रशोधन गर्न सक्छन्, तर रोबोटहरूलाई वास्तविक मानव वातावरणमा हिँडडुल गराउनु र काम सिकाउनु निकै चुनौतीपूर्ण कार्य हो । विकासकर्ताहरूका अनुसार मानिसको आफ्नै दृष्टिकोणबाट खिचिएका यस्ता भिडियोहरू विशेष एआई मोडलहरूमा फिड गर्दा रोबोटहरूले मानव व्यवहारको दुरुस्तै नक्कल गर्न सिक्छन्।
यस प्रकारका एआई प्रशिक्षकहरूले भिडियो चस्मा, टाउकोमा जडान गरिने क्यामरा र मोसन सेन्सरको प्रयोग गरेर घरमा, कारखानाहरूमा वा विशेष स्टुडियोहरूमा काम गर्ने गर्दछन्। 'मैले राम्रोसँग रेकर्डिङ गरिनँ भने यो एपले सिधै 'हात फेला परेन' भन्दै सङ्केत दिन्छ,' श्रीरम्यचन्द्राले भनिन्। उनले यो रेकर्डिङ एउटा विशेष एपमार्फत एउटा एआई डाटा कम्पनीलाई पठाउँछिन्, जसको कार्यालय भारत र अमेरिका दुवैतर्फ छ र यसका ग्राहकहरूमा विश्वका फर्च्युन ५०० बहुराष्ट्रिय कम्पनीहरू पर्दछन्।
विश्व बजारमा ह्युमनोइड रोबोटहरूको बजार तीव्र रूपमा फस्टाउँदै गइरहेको छ र प्रक्षेपण अनुसार सन् २०५० सम्ममा १ अर्बभन्दा बढी यस्ता रोबोटहरू मुख्य गरी औद्योगिक र व्यावसायिक क्षेत्रमा प्रयोगमा आउनेछन्। भारतले आफूलाई एआई डाटाको सिर्जना, प्रशोधन र एनोटेसन (वर्गीकरण) गर्ने एक विश्वव्यापी मध्यस्थकर्ताका रूपमा स्थापित गरिरहेको छ। भारतको सिलिकन भ्याली मानिने बेंगलुरुस्थित इन्डियन इन्स्टिच्युट फर ह्युमन सेटलमेन्ट्सकी डिजिटल श्रम विज्ञ अदिति सुरी भन्छिन्, 'भविष्यमा यस्ता डाटा सङ्कलन गर्ने सेवाहरूको माग र दायरा अझै बढ्ने देखिन्छ।'
तर, यो प्रविधिको अत्यधिक चर्चा र फाइदाबीच यसले निम्त्याउने अटोमेसन (स्वचालन)को जोखिम पनि उत्तिकै डरलाग्दो छ। भारत सरकारको थिंक ट्याङ्क 'नीति आयोग'ले एआई र श्रम बजारबारे हुने अधिकांश छलफलहरू 'ह्वाइट कलर' (बौद्धिक तथा कार्यालयमा काम गर्ने) पेशेवरहरूमा मात्र केन्द्रित हुने गरेको र यसले तत्काल कदम नचाले सो क्षेत्रमा रोजगारी गुम्ने निश्चित रहेको चेतावनी दिएको छ।
यद्यपि, नीति आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ, 'हाम्रो अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका भारतका ४९ करोड अनौपचारिक क्षेत्रका कामदारहरूलाई एआईले कसरी फाइदा पुर्याउन सक्छ भन्ने कुरामा भने निकै कम वा भनौँ ध्यान नै दिइएको छैन।' यो प्रतिवेदन यसै वर्ष भारतमा हुन गइरहेको विश्वव्यापी एआई सम्मेलनको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।
विगत एक दशकदेखि बेंगलुरुको सडक किनारमा बसेर फूलको माला उन्दै आएकी ५५ वर्षीया पोन्नीले पनि आफ्नो निधारमा फोन बाँधेर यस्तै रेकर्डिङको काम गरेबापत रकम बुझेकी छन्। उनले चिन्ता व्यक्त गर्दै भनिन्, 'हाम्रो आउने पुस्ता, जसले म जस्तै काम गर्नुपर्ने हुन सक्छ, उनीहरूले भविष्यमा ठुलो समस्या (रोजगारीको सङ्कट) भोग्नुपर्ने देखिन्छ।' एपी