१४ असार २०८३, आइतबार
तस्करीको जालो

सुन तस्करी र हुन्डीको भारु 'कनेक्सन' : सीमा क्षेत्रमा भारतीय पैसा 'फालाफाल' !

फागुन १, २०७९
सुन तस्करी र हुन्डीको भारु 'कनेक्सन' : सीमा क्षेत्रमा भारतीय पैसा 'फालाफाल' !

नेपाल–भारत सीमामा भारतीय रुपैयाँ स्थिर मूल्यभन्दा सस्तोमा पाइन थालेको छ ।

सीमा नाकाहरूमा अहिले भारु प्रति १०० रुपैयाँको १५० रुपैयाँसम्ममा साट्न पाइन्छ । जबकि भारुको स्थिर दर १०० बराबर नेपाली रुपैयाँ १६० हो ।

तर, अनौपचारिक बजारमा आजकल भारु सस्तो भएको छ । 

सीमा क्षेत्रमा काम गर्ने एक व्यापारीले लोकान्तरसँग भने, ‘अहिले भारु सस्तिएको छ । १५०/५५ मा सहजै पाइन्छ । पहिला हामीले व्यापार गर्दा १६५ सम्म तिरेका थियौं । पछिल्लो केही सातायता किन सस्तो भयो भन्ने थाहा छैन ।’

त्यसको पुष्टि सीमा नाकामा खटिएका एक प्रहरी अधिकारीले गरे । 

‘अहिले भारु सस्तो भएको भनेर स्थानीयहरूले भनेको सुनेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने । 

अनौपचारिक बजारमा भारु किन सस्तो भयो भन्ने जान्न केही दिनअघि प्रहरीले शृंखलाबद्ध रूपमा बरामद गरेको सुन र नेपाली रुपैयाँसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ १९ गते राति १० बजे कपिलवस्तु नगरपालिका– २ जमुवारपुलबाट २१ लाखभन्दा बढी भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो ।

यूपी ५५ एएम ०४५९ नम्बरको ह्युन्डाइ भेन्यू गाडीको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा भारतीय ५ सय दरका ४ हजार थान र १ हजार दरका ३६ थान भारतीय नोट बरामद भएको थियो । साथै गाडीमा सवार राकेशकुमार बर्माको साथबाट ५ सयका २०७ थान नोट पनि बरामद भएको थियो । 

त्यसक्रममा प्रहरीले भारतको सिद्धार्थनगर तेतरी बजार अनुपनगरका २८ वर्षीय हमिद मुसलमान, कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ विमिहाका ३५ वर्षीय राजेश कुमार बर्मा र २६ वर्षीय राकेश कुमार बर्मालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूलाई पैसा बोकेको भन्ने शंकाका आधारमा हैन, सुन तस्करीमा संलग्न रहेको भन्ने सूचनाका आधारमा चेकजाँच गरेको थियो ।

‘सुन बोक्ने गिरोह हुन् भन्ने सूचना हामीलाई आएको थियो । त्यसैका आधारमा उनीहरूलाई निगरानीमा राखेका थियौं । त्यो दिन पनि सुन नै बरामद हुन्छ भन्ने हाम्रो विश्वास थियो तर उनीहरूले सुन भारत पुर्‍याइसकेको जस्तो देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

प्रहरी स्रोतका अनुसार उनीहरू सुन भारत पुर्‍याएबापत पाएको ज्याला बोकेर नेपाल फर्किएका थिए । त्यसरी ज्यालामा प्राप्त भारतीय रूपैयाँ उनीहरूले नेपालको अनौपचारिक बजारमा आएर नेपाली रुपैयाँसँग सटही गर्ने गरेको पाइएको छ । 

नेपाली भरियाहरूले तस्करीको पैसा नेपाली रुपैयाँमा परिणत गर्नका लागि भारु सस्तैमा भने पनि उपलब्ध गराउने गरेको पाइएको छ । जसको प्रभाव अनौपचारिक बजारमा भारुको सटहीदरसँग परेको छ ।

***

पुस ८ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको थियो । 

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन बरामद भएको हो । विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको प्रहरीले दाबी गरेको थियो ।

माघ १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएका थिए । फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई राति सवा १२ बजे सुनसहित नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहम्मद कमल महगौब थिए । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार चेकजाँचका क्रममा उनीसँग अवैध सुन भेटिएको थियो ।

***

माघ २५ गते हेल्मेटभित्र लुकाएर ल्याएको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका– १६ वीरगंज–रक्सौल सडक खण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

भारत घर भएका २६ वर्षीय राकेशकुमार र २७ वर्षीय प्रसंंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट एसपी सुमन थपलियाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

भातरीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका थिए । राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरका ४ थान  भारतीय नोट फेला परेको थियो ।

यी माथिका घटनाले नेपालबाट भारतमा सुन जाने त्यहाँबाट पैसा आउने गरेको पुष्टि गर्छ । अर्को अहिले नेपालमा हुने हुण्डीको कारोबार माफियाहरूले भारत हुँदै गर्ने गरेका छन् । 

माघ २२ गते काठमाडौंको न्यूरोड क्षेत्रमा हुण्डीको कारोबार भएको सूचनाका आधारमा प्रहरीले ७८ लाख ५० हजार नेपाली रूपैयाँसहित २ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका– ९ का २३ वर्षीय किशोर चौधरी र गोदावरी नगरपालिका– १० का ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दीपेन्द्रले ५ वर्षदेखि र किशोरले ४ महिनादेखि न्यूरोड क्षेत्रमा हुण्डीबाट पैसा संकलन गर्ने र बैंकमा डिपोजिट गरेर व्यवस्थापन गर्ने काम गर्दै आएको खुलेको छ । उनीहरूले भारतबाट आउने अवैध (स्रोत नखुलेको) पैसालाई बैंकमा डिपोजिट गरेर वैध बनाउने काम समेत गर्दै आएको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूको दैनिक कारोबार नै १ करोडभन्दा माथिको थियो । भारत हुँदै आउने हुण्डीको पैसा र सुन तस्करको ज्यालालाई ‘ह्वाइट’ बनाउन उनीहरूले काम गर्ने गरेको पाइएको छ ।

संसारभरमा रहेका नेपालीहरूको पैसा भारत ल्याउने र त्यहाँबाट नेपाली पैसा साटेर नेपालमा वितरण गर्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

‘अहिले हुण्डीको पैसा भारत हुँदै आउने गरेको पाइएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

दुबईबाट आउँछ दैनिक ४ केजी सुन, कार्गोमा भन्सारको सेटिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४ केजी सुन आउने गरेको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट फर्किने नेपाली कामदारमार्फत दैनिक ४ केजी सुन भित्रिने गरेको हो । सुन तस्करहरूले वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरूलाई प्रलोभनमा पारी सुनका बाला तथा त्यस्तै गहना पठाउने गरेका छन् ।

विमानस्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्तरलाई भने, ‘अहिले पनि दुबईबाट फर्किने लगभग ८० प्रतिशत व्यक्तिले सुन लिएर आउँछन् । त्यो गहना बनाएर ल्याउने भएकाले सरकारी निकायले बरामद गर्न अप्ठ्यारो छ ।’

विमानस्थलमा खटिएका एक अधिकारीको भनाइलाई आधार मान्ने हो भने अहिले तस्करहरूले सेटिङ मिलाएर कार्गोमार्फत ल्याउने गरेका छन् । उनका अनुसार भन्सारका कर्मचारीहरूलाई त्यो जानकारी हुन्छ। तर उनीहरूले आँखा चिम्लिदिने गरेका छन् ।

नेपाल प्रहरीले पछिल्लो ५ वर्षमा १४१ किलो सुन बरामद गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५१ किलो, २०७६/०७७ मा ३० किलो, २०७७/७८ मा ३२ किलो, २०७८/०७९ मा २३ किलो र २०७९/८० को पुस मसान्तसम्ममा ५ किलो सुन बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

हेर्नुस्, तथ्यांक :

बैंकिङ च्यानलमा स्रोत खुलाउन नसक्दा सीमाबाट पैसा ओसारपसार : प्रवक्ता, नेपाल प्रहरी

बैंकिङ च्यानलमा स्रोत खुलाउन नसक्दा त्यस्तो पैसा सीमा वारपार हुने गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले बताए ।

‘स्रोत खुलाउन नसक्नेले प्रहरीले के नै गर्छ र भनेर पैसा ल्याएको देखिएको छ,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने ।

सीमा पारिबाट पैसा डिपोजिट गर्दा स्रोत माग्ने भएकाले त्यसलाई १० मिनेट वारि ल्याउने र डिपोजिट गर्ने गरेको दाबी प्रहरीको छ ।

salt training

कमेन्ट गर्नुहोस्