
२८ औँ जनयुद्ध दिवसको अवसर पारेर सुसेला काव्यशालाको दोस्रो शृंखला सम्पन्न भएको छ ।
सोमबार सुसेला सांगीतिक समूह र पुष्पलाल ज्ञानशालाको आयोजनामा काठमाडौँको बागबजारमा सम्पन्न सुसेला काव्यशालामा सांगीतिक कार्यक्रममा साथमा कविताहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कवि तथा राजनीतिकर्मी बलराम तिमिल्सिनाले जनयुद्धको स्मरण गर्दै जनताले जनयुद्ध र त्यसको नेतृत्वसँग गरेको अपेक्षा पूरा हुन नसकेको बताए । जनताले आफ्नो जीवनस्तरमा साच्चिकै परिवर्तन हुन्छ भनेर युद्धमा सहभागी भएको बताउँदै उनले नेतृत्वको सम्झौंतापरस्त नीतिका कारण जनयुद्धका उपलब्धि संस्थागत हुन नसकेको बताए ।
‘जनताले जनयुद्धबाट आफ्नो जीवनस्तर साँच्चै परिवर्तन हुन्छ भन्ने ठानेका थिए। तर नेतृत्व चिप्लँदै चिप्लँदै अहिलेको अवस्थामा आइपुग्यो’, उनले भने ।
उनले जनयुद्धबाट अधुरा रहेका क्रान्तिका बाँकी काम अबको पुस्ताले पुरा गर्नुपर्ने बताए । उनले अहिलेको युवाले पुँजीवादसँग जोगिँदै लड्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए।
कार्यक्रममा लक्ष्मीदेवी गौडेल, समर्पण श्री, विभूति भट्टराई, कपिल सिजापती, शैलज पौडेल र बलराम तिमिल्सिनाले कविता वाचन गरेका थिए।
त्यस्तै सुसेला सांगीतक समूहका अञ्जानबाबु, विष्णु अधिकारी, ठाकुर सुवेदी, श्याम ढकाल र मोहन तिम्सिनाले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए। काव्यशालाको पहिलो शृंखलामा कवि विनोदविक्रम केसीको एकल कविता वाचन गरिएको थियो ।