
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे ४ लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस अवसरमा पशुपतिनाथका ४ ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम शुरू भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए ।
बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो ।
महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नान सहितको विशेष पूजा गर्ने कार्यक्रम छ ।
पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपति मन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन् । मन्दिर विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो ।
मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि गर्नेछन् । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ ।
महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्ने कार्यक्रम छ । यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका ४ पूर्व प्रधानसेनापतिले पनि शनिवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताए ।