
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शनिवार दिउँसो भएको मनोनयन दर्ताको काम केही समयअघि सकिएको छ ।
प्रतिष्ठानको अध्यक्षमा गायिका रीता थापा मगरको एकल उम्मेदवारी परेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्माको पनि एकल उम्मेदवारी परेको छ ।
एकल उम्मेदवारी परेका कारण अध्यक्षमा रीता र वरिष्ठ उपाध्यक्षमा पशुपति निर्विरोध निर्वाचित हुनेछन् । त्यस्तै, प्रथम उपाध्यक्षमा पनि गायक रामजी खाँणको एकल उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको सांगठनिक उपाध्यक्षमा सुवास केसी र प्रशासनिक उपाध्यक्षमा दिपक खड्काको एकल उम्मेदवारी छ ।
महिला उपाध्यक्षमा राधिका हमालको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण यी कलाकारहरु पनि निर्वारोध निर्वाचित हुनेछन् ।
त्यस्तै खुल्ला उपाध्यक्षतर्फ ७ जनाको पदमा १० जनाको उम्मेदवारी छ ।
रमेशराज भट्टराई, पुश्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, शंकर बिसी र तारापती सुवेदीको उम्मेदवारी खुल्ला उपाध्यक्षमा परेको छ ।
महासचिव पदमा शिव हमालको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेका कारण उनी पनि निर्विरोध निर्वाचित हुनेछन् ।
उपमहासचिवतर्फ प्रशासनिकमा हरि डाँगी र सांगठनिकतर्फ शिरीष देवकोटाको एकल उम्मेदवारी छ । कोषाध्यक्षमा पनि अमृत अधिकारीको एकल उम्मेदवारी परेको छ ।
पदाधिकारीमा धेरै कलाकारहरु निर्विरोध निर्वाचित हुने देखिएको छ भने सदस्य पदका लागि थुप्रै कलाकारहरुको मनोनयन दर्ता भएको छ ।
विभिन्न पदका लागि निर्वाचनको तयारी हुँदैछ । शुक्रवारदेखि सुरु भएको महाधिवेशन आइतवार सकिँदैछ ।