
वाणिज्य बैंकहरूले २ खर्ब ५ अर्बले निक्षेप बढाउँदा कर्जा प्रवाह भने १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै गरेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पुससम्मको तथ्यांक अनुसार निक्षेपको तुलनामा कर्जा प्रवाह कम छ ।
बैंकहरूको फागुन दोस्रो सातासम्मको तथ्यांक आइसकेको छ । तर पहिलो ६ महिनासम्मको तथ्यांक तुलना गर्ने हो भने यो वर्ष गत वर्षभन्दा कम निक्षेप र कर्जा प्रवाह भएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले कर्जाको सीमा चालू आर्थिक वर्ष २०७९/८० को लागि १२ प्रतिशत तोकेको भए पनि अहिलेसम्म सीमाभन्दा निकै कम मात्रै कर्जा प्रवाह भएको छ । हालसम्म ४ प्रतिशत मात्रै कर्जा बैंकहरूले प्रवाह गरेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले पुससम्ममा १ खर्ब २३ अर्ब गत वर्ष निक्षेप संकलन गरेर ४ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गत वर्ष वाणिज्य बैंकहरूलाई केन्द्रीय बैंकले १९ प्रतिशत कर्जा प्रवाहको सीमा तोकेको थियो । सो सीमाभन्दा बढी कर्जा प्रवाह गरेकै कारण गत वर्ष पहिलो ६ महिनामा पनि निक्षेपभन्दा दोब्बर बढी कर्जा प्रवाह भएको थियो ।
केन्द्रीय बैंकका अनुसार बैंकहरूले कर्जा प्रवाह बढाएकै कारण कोभिड महामारीपछि अर्थतन्त्र चलायमान छिटो भएको उल्लेख छ ।
कोभिडले शून्यमा पुर्याएको अर्थतन्त्रलाई केन्द्रीय बैंकले गरेको सहजीकरण र सुविधाकै कारण आर्थिक क्षेत्र चलायमान छिटो भएको थियो ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार साउनमा १ खर्ब ८ अर्बले घटेको निक्षेप संकलन भदौदेखि भने सुधार भएको छ । भदौमा ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकहरूले असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९४ अर्ब र मागमा १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
यस्तो निक्षेपबाट बैंकहरूले साउनमा १ अर्ब ५२ करोड, भदौमा १३ अर्ब ७५ करोड, असोजमा ३० अर्ब ४ करोड कर्जा प्रवाह गरेका थिए ।
बैंकहरूले कात्तिकमा १ अर्ब २६ करोड, मंसिरमा २ अर्ब ६ करोड, पुसमा ५४ अर्ब ५४ करोड र माघमा ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको पनि नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।