१६ असार २०८३, मंगलबार
फिफा विश्वकप–२०२६

२४ वर्षपछि हारको बदला : पाराग्वेको ऐतिहासिक जित, जर्मनी घर फर्कियो

असार १६, २०८३
काठमाडौं
२४ वर्षपछि हारको बदला : पाराग्वेको ऐतिहासिक जित, जर्मनी घर फर्कियो

चार पटकको विश्व विजेता जर्मनी जारी सन् २०२६ को फिफा विश्वकपबाट बाहिरिएको छ। मंगलबार बिहान भएको रोमाञ्चक नकाउट खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी बाहिरिएको हो । 

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा जर्मनीले पहिले प्रहार गरेको थियो तर, उनीहरू खेलभरि कहिल्यै अगाडि रहन सकेनन् । आर्सनलका फरवार्ड काई हाभर्ट्ज र न्युक्यासलका निक भोल्टेमाडे दुवैको प्रहारलाई पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे।

तर, पाराग्वेले पनि खेल जित्ने दुईवटा सुनौलो अवसर गुमायो । एन्टोनियो सानाब्रियाको प्रहार पोस्ट बाहिर गयो भने फाबियन बाल्बुएनाको प्रहारलाई जर्मनीका ४० वर्षीय अनुभवी गोलकिपर म्यानुएल नोयरले रोकिदिए ।

त्यसपछि खेल 'सडन डेथ' मा पुग्यो। सडन डेथको पहिलो प्रहारमै जर्मनीका जोनाथन टाहले बललाई पोस्टमाथि आकाशतिर ब्लास्ट गरे । त्यसपछि पाराग्वेका डिफेन्डर जोसे कानाले पालो आयो। उनले निकै शान्त रहँदै निर्णायक गोल गरेपछि प्यारागुए ४–३ ले विजयी भयो।

यसअघि खेलको ४२ औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई शुरूआती स्तब्धपूर्ण अग्रता दिलाएका थिए । दोस्रो हाफमा जर्मनीले खेलमा निकै सुधारिएको प्रदर्शन गर्‍यो । ५२ औँ मिनेटमा लिभरपुलका मिडफिल्डर फ्लोरियान विर्ट्जको क्रसलाई काई हाभर्ट्जले फ्लिक हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। पाराग्वेले उत्कृष्ट डिफेन्स गर्दै खेललाई अतिरिक्त समयसम्म पुर्‍यायो ।

अतिरिक्त समयको १०२ औँ मिनेटमा जोनाथन टाहले नाथानियल ब्राउनको कर्नर किकलाई हेडरमार्फत जाली चुमाएपछि जर्मनीले जितिसकेको ठानेको थियो। तर, भिडियो असिस्टेन्ट रेफ्रीको रिभ्युले उक्त गोललाई मान्यता दिएन । रिभ्युमा जर्मन खेलाडी वाल्डेमार एन्टोनले गोलकिपर गिललाई धक्का दिएर भुइँमा लडाएको देखिएपछि रेफ्रीले त्यसलाई फल घोषित गर्दै गोल रद्द गरिदिएका थिए।

यसअघि विश्वकपमा यी दुई टोलीबीच सन् २००२ को विश्वकपको 'राउन्ड अफ १६' मा मात्र भेट भएको थियो, जहाँ जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो। २४ वर्षपछि पाराग्वेले हारको बदला लिएको हो ।

ठुला प्रतियोगिताहरूमा जर्मनीको पेनाल्टी सुटआउट रेकर्ड निकै बलियो मानिन्थ्यो । सन् १९७६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा चेकोस्लोभाकियासँग हारेयता जर्मनीले लगातार ६ वटासहित कुल ७ मध्ये ६ वटा पेनाल्टी सुटआउट जितेको थियो । यो ऐतिहासिक रेकर्ड पाराग्वेले तोडिदिएको छ।

पाराग्वे यसअघि पाँच पटक नकआउट चरणमा पुगे पनि कुनै पनि खेलमा गोल गर्न सकेको थिएन। सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमै हराएर टोली इतिहासमा एक पटक मात्र क्वार्टरफाइनल पुगेको थियो, जहाँ उनीहरू उपविजेता बनेको स्पेनसँग पराजित भएका थिए।

सन् २०१४ मा अर्जेन्टिनालाई १–० ले हराएर चौथो पटक विश्वकप जितेयता जर्मनी पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको थियो, जहाँ उनीहरू पहिलो खेलबाटै घर फर्किन बाध्य भए।

ऐतिहासिक जित दर्ता गरेको पाराग्वेले अब आगामी शनिबार (जुलाई ४ मा) फिलाडेल्फियामा हुने 'राउन्ड अफ १६' को खेलअन्तर्गत दुई पटकको विजेता फ्रान्स वा सन् १९५८ को उपविजेता स्विडेनबिचको विजेतासँग सामना गर्नेछ । यदि पाराग्वेले उक्त खेल पनि जितेमा उनीहरू जुलाई ९ मा फक्सबोरोमा हुने क्वार्टरफाइनल खेलका लागि योग्य हुनेछन्।

salt training

कमेन्ट गर्नुहोस्