०१ असार २०८३, सोमबार

गाडी ट्राफिक जाममा फसेको मौकामा दुलही छोडेर भागे दुलाहा

फागुन २५, २०७९
गाडी ट्राफिक जाममा फसेको मौकामा दुलही छोडेर भागे दुलाहा
Dreamstime

भारतको बेंगलुरुमा ट्राफिक जामको समस्या भयंकर छ । 

त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । 

भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्षले मार्च ५ मा प्रहरी समक्ष जाहेरी दिएको छ । प्रहरीले दुलाहालाई खोजिरहेको छ । 

दुलाहाको नाम विजय जर्ज (नाम परिवर्तन) हो । उनकी पूर्व प्रेमिकाले निजी क्षणको भिडियो र तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी तनावमा थिए ।

जर्जले पत्नीलाई आफूसँग भइरहेको ब्ल्याकमेलिङका बारेमा बताएका थिए । तर उनले आफू र आफ्ना मातापिता जर्जको पक्षमा उभिने अनि चिन्ता नलिन बताएकी थिइन् ।

तर यस आश्वासनका बावजूद विवाहको भोलिपल्ट जोडी चर्चबाट फर्किँदै गर्दा गाडी ट्राफिक जाममा फसेको मौका पारी दुलाहा भागेका थिए । अगाडिको सीटमा बसेका जर्ज कारबाट निस्केर चम्पत भएका थिए । 

स्तब्ध भएकी दुलही पनि कारबाट निस्केर पछिपछि भागेकी थिइन् र भेट्टाउन सकिनन् । 

जर्जले कर्नाटक र गोवामा आफ्ना पितालाई म्यानपावर एजेन्सीमा सघाइरहेका थिए । गोवामा हुँदा उनले कम्पनीकै एक चालककी पत्नीसँग सम्बन्ध बनाएका थिए । ती महिला दुई सन्तानकी आमा हुन् र त्यही कम्पनीमा क्लर्कका रूपमा काम गरिरहेकी थिइन् । 

जर्जकी आमालाई यस सम्बन्धका बारेमा थाहा भएपछि जर्जले सम्बन्ध तोड्ने भनेका थिए । तर उनी लुकीलुकी ती महिलालाई भेटिरहन्थे । 

ती महिलाको मोहपाशबाट छुटाउनका लागि जर्जको परिवारले उनको विवाह अन्तै गराउने निर्णय लियो । 

‘मलाई विवाहअघि नै यस सम्बन्धका बारेमा बताइएको थियो,’ जर्जकी पत्नीले बताइन्, ‘तर त्यस महिलालाई छोड्ने भनेकाले मैले विवाहको स्वीकृति दिएँ । ब्ल्याकमेलको डरले जर्ज भागे । उनी आत्महत्याको सोच बनाइरहेका थिए । उनी सुरक्षित छन् र छिट्टै फर्किन्छन् भन्ने आशा छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्