बुधवार युट्युबमा सार्वजनिक ‘हिमालको बरै काखैमा घर’ शीर्षकको गीतलाई चोरीको आरोप लागेको छ ।
सूर्य खड्का, रविन लामिछाने र टीका सानुको स्वरमा सार्वजनिक यो गीत वरिष्ठ लोकगायक प्रेमराजा महतले गाएको लोकगीतबाट चोरिएको आरोप लागेको हो ।
प्रेमराजा महत र डम्बर महतले गाएको पुरानो लोक गीत ‘हिमालको बरै काखैमा घर, कति राम्रो बरै छ मेरो पोखरा’लाई जस्ताको त्यस्तै कपी गरेर नयाँ गीत ल्याएको लोकगीतसँग सरोकार राख्नेहरूको आरोप छ ।
गीतको थेगोमात्र नभएर लय पनि मिलेको प्रेमराजाको पुरानो गीत सुनेकाहरूले बताएका छन् ।
वरिष्ठ गायक प्रेमराजा महतले पनि आफ्नो पुरानो गीतलाई कपी गरेर नयाँ गीत ल्याइएको खबर पाएपछि उक्त गीत सुनेको बताए ।
‘धेरै जनाले तपाईको पुरानो गीत कपी गरेर ल्याएछन भन्नु भएपछि हेरेँ । साँच्चै रहेछ’ उनले भने, ‘त्यो गीत मेरो हो भन्नेमा शंका छैन ।’ उनले सम्बन्धित कलाकारहरूसँग कुरा गर्न भने नपाएको बताए ।