१६ असार २०८३, मंगलबार

चलचित्र कलाकार संघ : रेजिना उप्रेतीलाई हराउँदै अध्यक्षमा मोहन निरौला निर्वाचित

५ जना उम्मेदवार रहेको महासचिवमा सबिन श्रेष्ठ विजयी
चलचित्र कलाकार संघ : रेजिना उप्रेतीलाई हराउँदै अध्यक्षमा मोहन निरौला निर्वाचित
तस्वीर : गोपीकृष्ण चापागाईँ

चलचित्र कलाकारहरूको छाता संस्था ‘नेपाल चलचित्र कलाकार संघ’को अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार राजधानीमा सम्पन्न संघको १९ औं साधारणसभापश्चात भएको निर्वाचनमा प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।

झन्डै ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए । 

संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरी नेपाल ‘वैरागी’ निर्वाचित भएका छन् भने महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।

उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने महासचिवमा ५ जना उम्मेदवार थिए ।

सचिव पदमा जीवन थापालाई पराजित गर्दै रामेश्वर बुर्लाकोटी निर्वाचित भएका छन् । त्यस्तै विनोद कुमार भट्टराईलाई हराउँदै कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन् ।

सह–कोषाध्यक्षमा पवित्रा आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् । 

त्यस्तै सदस्यमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, पवन केसी, रोशन श्रेष्ठ, रञ्जना खड्का ‘खुश्वु’, नम्रता खरेल, पुकार भट्टराई, सरिता राजोपाध्याय र समीर लामा तामाङ निर्वाचित भएका छन् । 

सदस्यमा २५ जनाको उम्मेदवारी परेको थियो ।

शनिवार राती ११ गते मतगणना सकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्