
चलचित्र ‘छक्का पञ्जा ४’ ले १८ करोड रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको छ । चलचित्रले हिजो (मंगलवार)सम्ममा उक्त कमाई गरेको हो ।
फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र यति बेला तेस्रो सातामा प्रदर्शनरत छ ।
‘हिजोसम्ममा १८ करोड हाराहारी कलेक्सन गरेको छ’ चलचित्रका वितरक मनोज राठीले बुधवार लोकान्तरसँग भने, ‘२५ करोड बढी कलेक्सन गर्ने अपेक्षा छ ।’
वितरक राठीले तेस्रो सातामा पनि चलचित्रको कमाइ उत्साहजनक रहेको बताउँदै आगामी दिनमा पनि राम्रो व्यापार गर्ने आँकलन गरे ।
‘छक्का पञ्जा’को यसअघिका तीनवटै श्रृङखलाको सम्पूर्ण रेकर्ड ‘छक्का पञ्जा ४’ले तोड्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।
‘छक्का पञ्जा ३’ले नेपाली बक्स अफिसमा २१ करोड हाराहारी ग्रस कलेक्सन गरेको थियो ।
‘छक्का पञ्जा’को यसअघिका श्रृङखलाको रेकर्ड ‘छक्का पञ्जा ४’ले अबको केही दिनमै तोड्नेमा ढुक्क रहेको वितरक राठीले बताए ।
‘छक्का पञ्जा’का यसअघिका तीनवटै श्रृंखला दीपाश्री निरौलाले निर्देशन गरे पनि छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
राजनीतिलाई मुख्य विषयवस्तु बनाएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, बेनिशा हमाल, राज आचार्य, निर्मल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय छ ।
चलचित्रले नेपालमा मात्र नभएर विदेशमा समेत राम्रो कमाई गरिरहेको छ ।