
गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् ।
रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्जक रोशन सिंहले आफूमाथि कुटपिट गरेको बताएका छन्
उनले आफ्नो चेन दुर्गेशले लगेको आरोप समेत लगाएका छन् ।
प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख (डीएसपी) अंगुर जिसीले झै–झगडाको विषयलाई लिएर उजुरी परेको लोकान्तरलाई बताए ।
‘आज छलफलका लागि दुवै पक्षलाई बोलाएका छौं,’ उनले भने ।
शनिवार मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरेको टिकटकर रिदमको आरोप छ ।
यस विषयमा बुझ्न खोज्दा दुर्गेशको फोन उठेन । उनले फेसबूकमा आइतवार एक स्टाटस लेखेका छन्, जसलाई धेरैले यही घटनासँग जोडेर बुझेका छन् ।
‘हरेक मानिसको दुईवटा जीवन हुन्छ, निजी र सार्वजनिक । मेरो निजी जीवन भनेको परिवार हो,’ उनले लेखेका छन्, ‘आफ्नो परिवारको गरिमामाथि कसैले आँच पुर्याउँदा कुनै पनि सन्तान चुप लागेर बस्दैन ।’