
बेलायतमा स्थापित नेपाली युवा व्यवसायी रघु दाहालले डकुड्रामा निर्माण गर्ने भएका छन् ।
यो ड्रामा लण्डन र नेपाल जोडिएको एउटा यथार्थ घटनामा बन्न लागेको बताइएको छ । यसको कथा लेखन कार्य अहिले नेपालमा धमाधम भइरहेको छ ।
निर्देशक रामजी ज्ञवालीले १ महिनादेखि कथा लेख्ने काम भइरहेको र अब अझै डेढ महिनामा स्क्रिप्टको काम सकिने बताएका छन् । उनले भने, – ‘रघु दाहाल दाजु आफैमा एउटा उदाहरणीय व्यवसायी हुनुहुन्छ । उहाँ यो प्रोजेक्टमा आबद्ध हुँदा हामी निकै उत्साहित छौँ ।’
दाहालको मुख्य लगानी (निर्माता) रहेर यो प्रोजेक्ट सक्नेगरी हालै निर्णय भएको निर्देशक ज्ञवालीले जानकारी दिए ।
निर्माण टिममा अरू केही व्यवसायी पनि जोडिने उनले बताए । यो डकुड्रामाको शीर्षक, कलाकारको टिम दाहाल नेपाल आएपछि घोषणा गर्ने निर्माण टिमको तयारी छ । डकुड्रामाको लण्डन र नेपालमा छायांकन गरिनेछ ।
कम्तीमा ३० दिन छायांकनका लागि समय लाग्ने यो ड्रामाको लण्डनपछि काठमाडौं, हेटौडा, चितवन, पोखरा र गोरखामा छायांकन हुने बताइएको छ ।
निर्माण टिमले स्क्रिप्टको मुख्य प्लट भने रिलिजभन्दा अघि सार्वजनिक हुने टिजरमा मात्रै खुलाउने योजना गरेको छ । यसमा पत्रकार जीवन भण्डारीले लेखेको गीत समेटिने छ । २१ बर्षदेखि पत्रकारितामा सक्रिय भण्डारी गितकार तथा साहित्यकार पनि हुन् । यसका निर्माता दाहाल भन्छन्, – ‘यो सर्ट फिल्म होइन । ठूलो फिल्म पनि होइन । डकुड्रामा हो । यथार्थ घटना भएकाले यसलाई सकेसम्म सेक्रेट राखेरै काम गरौँ भन्ने योजना भएकाले त्यसै गर्न खोजिएको हो ।’
यथार्थ घटनामा आधारित यो ड्रामाका पात्र भने कलाकारहरू हुनेछन् । केही समय अघि बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका रघु दाहाल चितवनका बासिन्दा हुन् । २० वर्षदेखि लण्डनमा बस्दै आएका दाहाल चितवन घर भई लण्डनमा बस्दै आएकाहरुको साझा संस्था क्याट युकेका बरिष्ठ उपाध्यक्ष पनि रहेका छन् । उनले लण्डनमा ताज महल लाउन्ज खोलेका छन् ।
नेपाली कलाप्रेमी दाहालले यसअघि पनि लण्डनमा नेपाली कलाकारहरूलाई प्रबर्द्धन गर्ने विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
यो डकुड्रामा सन्देशवाहक र एउटा दर्दनाक कथा बोल्ने भएकाले निर्माणमा होमिएको दाहालको भनाई छ । त्यस्तै निर्देशक रामजी ज्ञवालीले यसअघि एक दर्जन सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
उनको पछिल्लो सर्ट फिल्म ‘आराध्या’ एक महिनाअघि मात्रै सार्वजनिक भएको थियो । उनि नेपालका ठूला केही सेलिब्रिटीहरुको मिडिया म्यानेजरको रुपमा समेत आबद्ध छन् । एक दशक भन्दा धेरै पत्रकारिता गरेका उनी लकडाउनसँगै फिल्म निर्माण एवं निर्देशनमा होमिएका हुन् ।