१७ असार २०८३, बुधबार

अफगानिस्तानमाथि पाकिस्तानको आक्रमण, दर्जनौंको मृत्यु

असार १५, २०८३
काठमाडौं
अफगानिस्तानमाथि पाकिस्तानको आक्रमण, दर्जनौंको मृत्यु

पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गर्नुका साथै स्थलमार्गबाट पनि सैन्य कारबाही गरेको छ । आइतबार भएको उक्त आक्रमणमा दर्जनौं मानिसको मृत्यु भएको दुवै देशले जनाएका छन् ।

अफगानिस्तानको तालिबान सरकारले हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा ३६ जना सर्वसाधारण मारिएको तथा १६० भन्दा बढी घाइते भएको दाबी गरेको छ । तालिबानले घटनालाई ‘कायरतापूर्ण कार्य’, ‘अपराध’ र ‘अत्याचार’को संज्ञा दिँदै कडा निन्दा गरेको छ ।

यता पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले भने आतंकवादी लुकेका स्थानलाई लक्षित गरी गरिएको कारबाहीमा २९ जना लडाकू मारिएको बताएका छन् । 

उनका अनुसार हालै निर्दोष नागरिकमाथि भएका आतंकवादी आक्रमणको जवाफस्वरूप उक्त सैन्य कारबाही गरिएको हो ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले सीमापार आक्रमण गर्ने आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर तालिबान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ । 

त्यसैगरी, काबुलले पनि पाकिस्तानले सर्वसाधारणलाई निशाना बनाएर एकपक्षीय आक्रमण गर्ने गरेको आरोप लगाउने गरेको छ भने पाकिस्तानले आफूले आतंकवादीलाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ ।

दुवै देशले गत वर्षको अक्टोबरमा युद्धविराममा सहमति गरेका थिए । तर अघिल्ला अन्तर्राष्ट्रिय मध्यस्थतामा भएका युद्धविरामजस्तै उक्त सहमति पनि केही समयमै भंग भएको थियो ।

बीबीसीले पाकिस्तान र तालिबान सरकारले सार्वजनिक गरेका हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

तालिबानका अनुसार पाकिस्तानको आक्रमणले सर्वसाधारणका घरमा क्षति पुगेको छ । तर पाकिस्तानले भने पक्तिया, पक्तिका र कुनार प्रान्तस्थित आतंकवादी लुकेका अड्डालाई मात्र लक्षित गरिएको जनाएको छ । तालिबानका अनुसार सबैभन्दा धेरै क्षति पक्तिका प्रान्तको मान्दोखेल गाउँमा भएको छ ।

यी आक्रमण हुनुभन्दा एक दिनअघि कराँचीस्थित सिन्ध रेंजर्सको मुख्यालयमा भएको आत्मघाती आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलका तीन सदस्य र तीन आक्रमणकारी मारिएका थिए । पाकिस्तानी अधिकारीहरूले घटनामा संलग्न एक अफगान नागरिकलाई पनि पक्राउ गरिएको बताएका छन् ।

उक्त आक्रमणको जिम्मेवारी पाकिस्तान तालिबान (टीटीपी)को विभाजित समूह जमात–उल–अहरारले लिएको छ । टीटीपी र जमात–उल–अहरार दुवै पाकिस्तान तथा संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित संगठन हुन् ।

हालका महिनामा सीमावर्ती क्षेत्रमा पटक–पटक भएका झडप र हवाई आक्रमणमा दुवै देशका दर्जनौं मानिसको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । 

फेब्रुअरीमा भएको सीमा झडपमा पनि दर्जनौंको मृत्यु भएको थियो भने मार्चमा पाकिस्तानले काबुलस्थित लागूऔषध पुनःस्थापना केन्द्रमा गरेको आक्रमणमा सयौं मानिस मारिएको दाबी गरिएको थियो । 

यसै महिनाको शुरूमा पाकिस्तानले गरेको अर्को हवाई आक्रमणमा २६ जना लडाकू मारिएको दाबी गरेको थियो भने तालिबान सरकारले त्यस क्रममा अधिकांश बालबालिकासहित १३ जना सर्वसाधारण पनि मारिएको जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्