
शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बहाव’को बुधवार राजधानीमा प्रिमियर गरिएको छ ।
प्रदर्शनको २ दिनअघि काठमाडौं वानेश्वरस्थित वान सिनेमाजमा गरिएको प्रिमियरमा राजनीतिज्ञ, फिल्मकर्मी, सञ्चारकर्मीहरू पुगेका थिए ।
फिल्म हेर्न एमाले सांसद रघुजी पन्त, काँग्रेसका सांसद प्रदीप पौडेललगायतका नेताहरू हलमा पुगेका थिए ।
प्रमोद कंडेलको लेखन एवं निर्देशन रहेको ‘बहाव’मा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा ईश्वरी सिंह,अफरान अलि र सूर्य शर्मा भट्टको पनि शीर्ष भूमिका छ ।
अभिनेत्री नीता ढुंगाना, अभिनेता नरेन खड्का, कलाकार लुनिभा तुलाधर, हरिश निरौला लगायतले पनि प्रिमियरमा पौने २ घण्टा अवधिको उक्त फिल्म हेरेका छन् ।
अतिथि राजनीतिज्ञ एवं कलाकारले फिल्म पारखीहरूलाई ‘बहाव’ नयाँ स्वाद भएको प्रतिक्रिया दिएका छन् ।