२४ असार २०८३, बुधबार

फेरिएका बालगायक अशोक दर्जी, भन्छन् – ठूलो भएपछि आश्रम खोल्ने सपना छ

फेरिएका बालगायक अशोक दर्जी, भन्छन् – ठूलो भएपछि आश्रम खोल्ने सपना छ
स्कूल ड्रेसका बालगायक अशोक दर्जी । तस्वीर : गोपीकृष्ण चापागाईँ

सडकमा गीत गाएर चर्चामा आएका झापाका बालगायक अशोक दर्जी हिजोआज साङ्गीतिक क्षेत्रबाट केही टाढा देखिएका छन् । 

गायक एवं संगीतकार टंक बुढाथोकीको छत्रछायाँमा रहेका उनी यतिबेला पढाइमा केन्द्रित छन् ।

काठमाडौंको तिनकुनेस्थित एप्पल इन्टरनेशनल स्कूलबाट हालै उनले कक्षा ५ सम्मको अध्ययन पूरा गरेका छन् । उनी स्कूलकै होस्टेलमा बस्दै आएका छन् । आगामी जेठमा उनी १३ वर्ष पुग्दैछन् । 

भाइरल भएको समयमा झन्डै पाँच वर्षअघि टंकले अशोकलाई काठमाडौं ल्याएर ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन’बोलको गीत रेकर्ड गराएका थिए । उक्त गीतलाई स्रोता एवं दर्शकहरूले निकै रुचाएका थिए ।

त्यसयता पनि अशोकका ‘चौरीको चाम्रो छुर्पी’, ‘सिम्पल डिम्पल’ लगायतका गीत निकै रुचाइएका छन् । 

उमेर बढ्दै गएसँगै यतिबेला अशोकको उचाइ पनि बढेको छ । उनको बोल्ने शैलीमा पनि परिवर्तन आएको छ । उनी सरल र मीठा कुरा गर्ने भएका छन् । 

उनै बालगायक अशोकले आफूसँग धेरै ठूलो सपना नभएको बताउने गरेका छन् । आफूले भोगेको दुःख, पीडा कहिल्यै बिर्सन नहुने बताउँदै आफ्नो विगतका भिडियोहरू हिजोआज पनि हेर्ने गरेको उनी बताउँछन् । 

हालसालैको एक अन्तवार्तामा उनले आफू ठूलो भएपछि आश्रम खोलेर दुःख पाएकाहरूलाई सहयोग गर्ने सपना रहेको बताएका छन् । 

‘सांगीतिक क्षेत्रमा सक्रिय हुने त भइहाल्ने भएँ । आफू जुन अवस्थाबाट आएको थिएँ । आर्थिक अवस्था कमजोर भएका, जो–जो आपत्तिमा हुनुहुन्छ, उहाँहरूको लागि सहयोग गर्छु’ उनले भनेका छन्, ‘ठूलो भएपछि आश्रम खोलेर दुःख पाउनुभएकाहरूलाई सहयोग गर्ने सोच छ । मर्नुअघि राम्रो काम गरेर मर्ने सपना बोकेको छु ।’

उनले ठूलो घर बनाउने, राम्रो गाडी चढ्ने, धेरै पैसा कमाउने आफ्नो सोच नभएको बताएका छन् । आफू सोही धरातलबाट आएको हुनाले पनि सामाजिक काममा रुचि लाग्ने गरेको उनले बताएका छन् । गीत गाउने संगै फिल्ममा पनि आउने सोच रहेको अशोकले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्