०१ असार २०८३, सोमबार

कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

बैशाख ३०, २०८०
कवि देवकी अभिलाषीको आदिवासी भोक लोकार्पण

कवि देवकी अभिलाषीको कविता संग्रह ‘आदिवासी भोक’ लोकार्पण भएको छ । 

शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले कविता संग्रह लोकार्पण गरेका हुन् । 

लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कूलपति राईले भने, ‘त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।’

प्रमुख अतिथिलाई राई जातिको फेटा समेत गुथाइदिएपछि भावकु हुँदै कूलपति भूपाल राईले भने, ‘अन्य समयमा आफ्नो संस्कार बमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गरुँगो लागेर मनलाई बढी भावुक बनायो ।’

कवि एवं निबन्धकार कुमारी लामाले कविता कृति र कवि देवकी अभिलाषीबारे अत्यन्तै सुन्दर एवं सटीक समालोचकीय मन्तव्य राखेकी थिइन् । समालोचक कुमारी लामाले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन् । ‘एउटा कविले आफ्नै देश र परिवेश निर्माण गर्ने भएकाले हिम्मतसाथ देवकी त्यस बाटोमा हिँडेकी छिन्,’ लामाले मन्तव्यको क्रममा बताइन् । 

कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कवि मात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको शहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको बताएका थिए । पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए । आफूलाई नेपाली भाषा पढाउने शिक्षकको अगाडि पुस्तक लोकार्पण भइरहेको सन्दर्भलाई जोड्दै कवि देवकी अत्यन्तै भावुक भएकी थिइन् । 

एनआरएनए क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता संग्रह आदिवासी भोकमा ४२ कविता छन् । उर्वरा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व उषा शेरचन र सञ्चालन बाबु त्रिपाठीले गरेका थिए । 

देवकी अभिलाषी बहिनी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउन्डेसन नेपालको अध्यक्ष तथा उर्वरा पत्रिका प्रकाशक र प्रधान सम्पादक पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्