०४ असार २०८३, बिहीबार

क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

बैशाख ३०, २०८०
क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

चितवन जिल्लामा रहेर व्यवस्थापन संकाय अध्यापन गराउने ३ वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पस, शहीद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको एनईएचईपी परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

विश्वविद्यालयले माग गरेको आशयपत्रको मूल्यांकन अनुसार १८ वटा क्याम्पसमा परियोजनामा छनोट भएकोमा क्याम्पसले संयुक्त रूपमा शुक्रवार पत्रकार सम्मेलन गरेर कार्यक्रम कार्यान्वयनको लागि अहिले पाठ्यक्रम निर्माण गरी तालिम र आर्थिक सहायतालाई इच्छुक उद्यमी छनोट गर्ने चरणमा रहेको जानकारी दिए ।

कार्यक्रममा प्रतिवर्ष प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्व विद्यार्थी र युवा प्राध्यापक छनोट हुनेछन् । तालिम प्राप्त गरिसकेपछि मूल्यांकनमा छनोट भएमा आफ्नो व्यावसायिक सोचअनुरूपको प्रस्ताव पेश गरेर विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गरेपछि प्रस्तावित लगानी रकमको ६० प्रतिशत विश्वविद्यालयले व्यहोर्ने छ । ५ लाखदेखि ४० लाख रुपैयाँसम्म प्रतिप्रस्ताव सहायता रकम प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम ३ वर्षसम्म विना ब्याज प्रयोग गर्न पाइने छ ।

सहायता रकम पाउन कार्यक्रमको प्रक्रियाभित्र रही आवेदन पेश गरेपछि प्राप्त आवेदनमध्येबाट प्रत्येक क्याम्पसमा गठन भएको निर्णायक समितिले इच्छुक उद्यमी छनोट गर्नेछ ।

क्याम्पसबाट छानिएको आवेदन विश्वविद्यालय अनुदान आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् । प्राप्त अनुदान रकम उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ । जेठ १० गतेबाट उद्यमी बन्न चाहने व्यक्तिमध्येबाट ३ वटै क्याम्पसले एकै समयमा आवेदन माग गर्ने जनाइएको छ ।

आवेदन संकलनको समय १५ दिन हुनेछ । निश्चित प्रक्रिया र मापदण्ड पूरा गरेका आवदेन छनोट गरिसकेपछि चितवनका ३ वटै क्याम्पसले असारको पहिलो हप्ताबाट कम्तीमा ४५ घण्टा प्रशिक्षार्थीलाई तालिम दिइने छ । चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रको रूपमा विकास गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

पत्रकार सम्मेलनमा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, कपिल सुवेदी, सहिद स्मृति बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराज सेढाइ, सागर तिवारी, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइसन्सका चोकबहादुर क्षेत्री लगायतले कार्यक्रमबारे जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्