
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए ।
उनले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 'विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन, यसले रोजगारी, उद्यमशीलता र सामाजिक रुपान्तरणमा योगदान दिनुपर्छ,' उनले भने ।
मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राखे ।
प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने उनको भनाइ छ ।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा चित्रित गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए ।
विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उनले प्रशंसा गरे ।