
सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ ।
राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले भोलि बुधवार धुलिखेल अस्पतालमा विश्व रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम हलमा गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधि सहभागी बैठकमा संगठनले नमूनाका लागि देशमै पहिलोपटक काभ्रेबाट उच्च रक्तचाप नियन्त्रणका लागि राष्ट्रिय अभियान शुरू गर्न लागिएको जानकारी गराइयो ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काका अनुसार डब्ल्यूएचओको अग्रसरतामा थालिने अभियान सम्बन्धित जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्नेछ । ‘डब्ल्यूएचओले यहाँबाट अभियान शुरू गर्नेछ, यसलाई निरन्तरता दिने जिम्मेवारी सबै जिल्लाका स्थानीय तहको हुनेछ,’ उनले भने ।
बैठकमा डब्ल्यूएचओको नेपाल प्रतिनिधि डा. रइस पोखरेल, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रामेश्वर श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष एवं प्रतिनिधि तथा स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईंले काभ्रेको कूल जनसंख्याको ३० हजार बढी नागरिकमा ‘हाइपर टेन्सन’ समस्या रहेको जानकारी दिए । उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार २८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा ९ हजार ४८२ उच्च रक्तचापका बिरामी छन् ।
वार्षिक २० प्रतिशत मात्रै समाधान गर्दै जान सकिए अभियान उपलब्धिमूलक बन्ने सेढाईंको भनाइ छ ।
निर्देशक श्रेष्ठका अनुसार काभ्रेमा उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था गरिसकिएको छ । ‘अवस्था हेरी ३ थरिका औषधि निःशुल्क वितरण हुनेछ, औषधि वा खानपानमा ध्यान दिई रक्तचाप जीवनभर सन्तुलित राख्नुपर्छ,’ श्रेष्ठले भने ।