
बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताए ।
बिहीवार कोषद्वारा सञ्चालित ५ आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा उनले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताए । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताए । कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरू गर्न सक्षम रहने उनको भनाइ थियो ।
कोषमा रहेर ५ आयोजना सञ्चालन गरिएको थियो । तीमध्ये २ सम्पन्न भएको र ३ वटा सम्पन्नको तयारीमा छन् । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रूपान्तरण आयोजना र डेन्टलप्लेट सम्बन्धी आयोजना रहेको जनाइएको छ ।