
चर्चित लोकगायक पशुपति शर्माले जनतालाई जागरूक हुन गीतमार्फत आग्रह गरेका छन् ।
उनले आफ्नै शब्द, संगीत र स्वर रहेको ‘तिम्रा नेता बिग्रिए जाग जनता’बोलको गीतमार्फत नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरूक हुन आग्रह गरेका हुन् । मंगलवार सार्वजनिक यो गीतमा आफूले भोट हालेर जिताएका नेता बिग्रिए देश नै बिग्रिने बताउँदै जनतालाई जागरूक हुन आग्रह गरिएको छ ।
अहिले जनता बाठा भएको बताउँदै झुक्याउने दिन गएको उनले गीतमा बताएका छन् ।
युवापुस्तामा रहेको विदेश मोहदेखि कर्मचारी बिग्रिएका कुराहरू समेत गीतमा गरिएको छ । पशुपति स्वयंम गीतको भिडियोमा प्रस्तुत छन् ।
दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन छ । पशुपतिले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।
मायाप्रेमका लोकदोहोरी गीतमात्र होइन, पशुपतिले समय समयमा देश र जनताको पक्षमा समेत यसरी गीतमार्फत आवाज उठाउँदै आएका छन् ।