
निर्देशक दीवाकर भट्टराई ‘मायावी’ नाममा फिल्म बनाउने तयारीमा लागेका छन् । ‘ऐश्वर्य’ फेम्ड निर्देशकले कोभिडभन्दा अघि घोषणा गरिएको फिल्म ‘तिमीसँगै हुने मन छ’लाई पछि सार्दै नयाँ नाममा फिल्म बनाउन लागेका हुन् ।
लभस्टोरी कथामा बन्न लागेको फिल्ममा दीपिका प्रसाईं र आशीर्वाद क्षेत्रीको जोडी बाँधिने निश्चित भएको छ ।
दीपिका ‘ऐश्वर्य’, ‘छक्का पञ्जा ३’ जस्ता हिट फिल्ममा अभिनय गरेकी छन् भने आशीर्वादले गत वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘नाईं नभन्नू ल ६’बाट डेब्यू गरेका थिए ।
‘मायावी’को छायाँकन असारपछि सुरु गर्ने तयारी गरिएको छ । पटकथा एवं निर्देशन भट्टराई स्वयंको रहने फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने जनाइएको छ ।
फिल्मका लागि दीपिका र आशीर्वादबाहेक अरू कलाकार भने छनोट भइसकेका छैनन् ।