२५ असार २०८३, बिहीबार
नियन्त्रित क्षेत्रप्रति बढ्दो चासो

नियन्त्रित क्षेत्रमा पर्यटकको लस्कर, कोभिडपछि नै घुमे झण्डै २५ हजार विदेशी नागरिक

असार १९, २०८०
काठमाडौं
नियन्त्रित क्षेत्रमा पर्यटकको लस्कर, कोभिडपछि नै घुमे झण्डै २५ हजार विदेशी नागरिक

कोभिडपछिको साढे २ वर्षमा झण्डै २५ हजार विदेशी पर्यटकले नेपालका १३ जिल्लास्थित ४५ भन्दा बढी नियन्त्रित क्षेत्र भ्रमण गरेका छन् ।

सरकारले विदेशी पर्यटकलाई अनुमतिविना प्रवेशमा रोक लगाएका क्षेत्रमा अनुमति लिएरै २४ हजार ९६१ जनाले भ्रमण गरेको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक कोभिड महामारीपछि अर्थात सन् २०२१ देखि २०२३ जुनसम्मको हो ।

‘सरकारले विदेशीका लागि अनिवार्य अनुमति लिनुपर्ने भनेर घोषणा गरेका नियन्त्रित क्षेत्रमा जाने पर्यटक बढ्दै गएका छन् । त्यहाँ जानका लागि अध्यागमन विभागमा शुल्क तिरेर अनुमति लिनुपर्ने व्यवस्था छ,’ अध्यागमन विभागका निर्देशक खिमराज भुसालले भने ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष चन्द्र रिजाल मानवरहित क्षेत्रमा जाँदा रमाइलो हुने र नयाँ कुरा देख्न/सिक्न पनि पाइने भएकाले जोमिखममा रमाउन चाहने र चासो बढी राख्ने पर्यटकहरू त्यस्ता क्षेत्रमा जाने गरेको बताउँछन् ।

जंगली जडिबुटी पाइने भएकाले अनुसन्धान गर्न चाहने, भौगोलिक विषयको अनुसन्धान गर्ने, लोपोन्मुख जनावरसहितको विषयमा अध्ययन गर्नेहरू नियन्त्रित क्षेत्रमा जाने गरेको बुझाइ रिजालको छ । नियन्त्रित क्षेत्रमा पर्यटकको चासो बढ्दै गएको उनले स्वीकारे ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटाका अनुसार नियन्त्रित क्षेत्रमा पुरातात्त्विक वस्तु हुन्छ भने त्यहाँको फरक संस्कृति हुन्छ ।

फरक जीवनशैली, जनावरको संरक्षण र ऐतिहासिक महत्त्व भएकाले सरकारले नियन्त्रित क्षेत्र घोषणा गरिरहेको बुझाइ पनि सापकोटाको छ ।

सम्पदादेखि, संस्कृति, भौगोलिक अवस्थासहितले पर्यटक आकर्षित गर्ने भएकाले नियन्त्रित क्षेत्र भनेपछि पर्यटकको चासो र उत्साह बढी हुने गरेको छ ।

तस्वीरमा उपल्लो डोल्पा

नियन्त्रित क्षेत्रलाई सरकारले संरक्षित गर्ने र पर्यटकले त्यही क्षेत्रमा जान रुचाउने गरेको हुँदा सरकारले शुल्क लिएर पर्यटकलाई त्यो ठाउँमा जान दिने गरेको पर्यटन व्यवसायीसमेत रहेका सापकोटाले बताए ।

अध्यागमन विभागको तथ्यांकअनुसार नियन्त्रित क्षेत्रमा ट्रेकिङ जानेहरूबाट साढे २ वर्षमा ५६ करोड ९४ लाख २५ हजार २७३ रुपैयाँ राजस्व संकलन भएको छ । 

सन् २०२१ मा २ हजार २६२ जना पर्यटकले निषेधित क्षेत्रमा गएबापत ४ करोड २० लाख ५४ हजार ४७७ रुपैयाँ राजस्व संकलन गरेका छन् । 

सन् २०२२ मा १५ हजार ८४५ जना पर्यटकबाट ३६ करोड ५१ लाख ६७ हजार ५२१ रुपैयाँ राजस्व संकलन भएको छ भने सन् २०२३ को ६ महिना अर्थात् जुन महिनाको ३० गतेसम्म ६ हजार ८५४ पर्यटकबाट १६ करोड २२ लाख ३ हजार २७४ रुपैयाँ राजस्व संकलन भएको निर्देशक भुसालले जानकारी दिए ।

अध्यागमन विभागको तथ्यांकअनुसार यी क्षेत्रमा ट्रेकिङ जाने पर्यटक अमेरिका, बेलायत, स्पेन, ताइवान, जर्मनी, रसिया, कुवेत लगायतका मुलुकका बढी छन् ।

‘युरोप अमेरिका लगायतका देशबाट पनि पर्यटकहरू लामो यात्राका लागि अनुमति लिएर आउने गरेका छन्,’ निर्देशक भुसालले लोकान्तरसँग भने । यस्ता क्षेत्रमा २० दिनदेखि ४५/६० दिनको ट्रेकिङ यात्रामा जाने गरिएको छ ।

अध्यागमन विभागका निर्देशक खिमराज भुसालका अनुसार पछिल्लो समयमा नियन्त्रित क्षेत्रमा लामो यात्रा गर्ने पर्यटकको संख्या बढेको छ । 

सन् २०२२ मा ४ हजार ८८ वटा ट्राभल एजेन्सीले १५ हजारभन्दा धेरै पर्यटकलाई घुमाउने अनुमति लिएका थिए । यो वर्ष सन् २०२३ को ६ महिनामा २ हजार ट्राभल एजेन्सीले लगभग ७ हजार पर्यटकलाई ती क्षेत्रमा घुमाउने अनुमति लिएको निर्देशक भुसालले बताए । 

‘पछिल्लो समय साहसिक क्षेत्रमा जाने पर्यटकको संख्या बढेको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्षमा औसत रूपमा धेरै छन्,’ उनले भने ।

सरकारले १३ जिल्लाको ४५ ठाउँलाई विदेशीहरू विना अनुमति जान नपाउने गरी नियन्त्रित क्षेत्र घोषणा गरेको छ । सरकारले गोरखाको तसुम उपत्यका, संखुवासभा, उपल्लो मुस्ताङ, मनाङको नारफू, उपल्लो डोल्पा, गोरखाको मनासलु, ताप्लेजुङ, कञ्जनजंघा, हुम्ला, दोलखा, तल्लो डोल्पा, मुगु, उपल्लो मुस्ताङ, रसुवा, बझाङलगायतका जिल्लाका कतिपय क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरेको छ । 

उपल्लो डोल्पा

नियन्त्रित क्षेत्र जान दैनिक २० डलरदेखि ५ सय डलरसम्म शुल्क

अध्यागमन विभागले १३ वटा जिल्लाका नियन्त्रित क्षेत्रमा जान दैनिक २० डलरदेखि ५ सय डलरसम्म लिने गरेको छ । 

विभागको तथ्यांकअनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, लोघिकार दामोदरकुण्ड र बराहगञ्ज मुक्तिक्षेत्र, मुगु र उपल्लो डोल्पाका डोल्पो बुद्ध, शे फोक्सुण्डो र चर्खा ताङ्सोङ क्षेत्रमा प्रतिदिन प्रतिव्यक्ति १० दिनसम्म ५ सय डलर थप अरू दिन ५० डलरका दरले शुल्क लिएर अनुमति दिने गरिएको छ ।

गोरखाको मनासलु क्षेत्र र मनाङको नार्फा र नासो क्षेत्रमा प्रतिदिन प्रतिव्यक्ति १ सय डलरमा १० दिन र त्यसपछि प्रत्येक दिन थप १५ डलर लिने गरेको छ ।

हुम्लामा १० दिनसम्म प्रतिदिन ५० डलर र थप बस्दा प्रतिदिन १० डलर, ताप्लेजुङ, तल्लो डोल्पा, दोलखा, संखुवासभा, सोलुखुम्बु र रसुवामा १० दिनसम्म २० डलर थप बस्दा प्रति हप्ता २५ डलर, दार्चुला र बझाङमा ९० डलर लिने गरिएको अध्यागमनले जनाएको छ । 

उपल्लो डोल्पा

६ महिनामा पौने ५ लाख विदेशी भित्रिए

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार ४८६ विदेशी नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि जुन महिनाको अन्तिमसम्म नेपाली ५ लाख ९३ हजार ३६८ जना आएका छन् । सोही अवधिमा ७ लाख ९२ हजार २८९ नेपाली विदेश गएका छन् भने ४ लाख ६६ हजार ३६५ जना विदेशी नेपाल बसेर फर्किएको अध्यागमनको तथ्याङ्कले देखाउँछ ।

यो अवधिमा अध्यागमनको पोर्ट प्रयोग गरेर सबैभन्दा धेरै भारतीय १ लाख ६७ हजार ६०५ जना, संयुक्त राज्य अमेरिकाबाट ४९ हजार ४३६ जना, संयुक्त अधिराज्यबाट २४ हजार २६४ जना, चीनबाट २० हजार ११७ जना, अस्ट्रेलियाबाट १७ हजार ६९५ जना, थाइल्यान्डबाट १४ हजार ११२ जना, बंगलादेशबाट १३ हजार ६२४ जना, जर्मनीबाट १२ हजार १६४ जना, दक्षिण कोरियाबाट ११ हजार ५५४ जना र फ्रान्सबाट १० हजार २५१ जना विदेशी नेपाल आएको तथ्यांक छ ।

तस्वीरहरू : अनिता भण्डारी

हेर्नुहोस्, नियन्त्रित क्षेत्रको सूची :

 

salt training

कमेन्ट गर्नुहोस्