
देश दौडाहामा व्यस्त नेपाली फिल्म ‘बगान’को टिमले बुटवलमा आएर दर्शक तथा पत्रकार भेटघाट गरेको छ ।
३० बर्षअघि ‘सारंगी’ फिल्मका लागि बुटवल आएको विगत सम्झिँदै अभिनेता तथा ‘बगान’का निर्देशक सरोज खनालले फिल्मले समाजको यथार्थ चित्रण गरेको बताए ।
समस्यासँग जुध्न र समाधानका लागि समाजलाई एउटा बाटो देखाउन फिल्मले एकल महिलाहरूको कथा बोल्ने बताए । फिल्म हलमा एकल महिला तथा विधवाहरूलाई निःशुल्क हेर्ने व्यवस्था गरेको बताउँदै निर्देशक खनालले हरेक महिलाको हक अधिकार र चाहनाको पक्षमा समाज हिँड्न नसक्दा यस्तो कथा जन्मिएको बताए ।
चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले सो कुरा बताएका हुन् ।
सो अवसरमा बोल्दै अभिनेत्री करिश्मा मानन्धरले फिल्मले एकल नारीको अधिकार, समस्या चुनौतीकाबीच समाधान खोजेकोले सबै दर्शकले एकपटक हेर्नैपर्ने फिल्म बनेको बताइन । कथा मन परेको कारण फिल्ममा आबद्ध भएको जानकारी गराउँदै अभिनेत्री मानन्धरले हरेक समाजका कुरीति र कु-संस्कृतिविरुद्धको आवाज बगान भएको बताएकी छिन् ।
आफ्नो पहिलो फिल्म भएपनि यस क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बगानले आफ्नो करिअर अगाडि बढाउने नव–अभिनेत्री प्रमिला कार्कीले बताइन । बगानको कथामा हरेक नारी, आमा, छोरी, बुहारीको कथा पाइने बताउँदै अभिनेत्री कार्कीले हरेक समाजमा भएको व्याप्त नारीको बेदनालाई टपक्क टिपेर कथा बुनिएको बताएकी छिन् ।

आफ्नो मोफसल यात्रालाई अघि बढाएको ‘बगान’ टिम शनिबार बिहान चितवनको कार्यक्रम सकेर बुटवल हुँदै आइतबार भैरहवा र पोखरा र त्यसपछि काठमाण्डौं फर्किनेछ । ‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् । प्रदर्शनका लागि फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।