
गायिका समीक्षा अधिकारीले रेकर्डिङलगायतका साङ्गीतिक कामलाई केही दिनका लागि स्थगित गर्नुपर्ने भएको छ । घाँटीमा टन्सिल बढेर विश्राम लिनु परेकाले साङ्गीतिक लगायतका काम गर्न असमर्थ रहेको उनी स्वयंमले सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।
‘आदरणीय सबैजना संगीतकर्मीमा सर्वप्रथम त क्षमाप्रार्थी छु । केहीदिन यता मौसमको कारण घाँटीमा टन्सिल बढेर विश्राम लिनु परेकोले केही दिनको लागी साङ्गीतिक तथा अन्य काम गर्न असमर्थ छु’ शनिवार दिउँसो उनले लेखेकी छन ‘हजुरहरुमा पर्न गएको असरप्रति विशेष ध्यान राखी पुनः काममा निरन्तरता हुने जानकारी गराउँदछु । आशा छ मनन गरिदिनु हुनेछ ।’
समीक्षा पछिल्लो समय रेकर्डिङमा निकै व्यस्त बनिरहेकी थिइन् । एकैदिन पाँच/सात वटासम्म गीत उनले रेकर्ड गराउँदै आएकी थिइन् । रेकर्डिङमा मात्र होइन, स्टेज कार्यक्रममा पनि उनको सक्रियता क्रमशः बढ्दैछ ।
विदेशका साङ्गीतिक कार्यक्रमबाट समेत उनको डिमाण्ड हुन थालेको छ । समीक्षाले यस वर्षको तीजमा अस्ट्रेलियामा साङ्गीतिक प्रस्तुति दिँदैछिन् ।