१९ असार २०८३, शुक्रबार
केन्द्रीय समिति बैठक

माओवादी बैठकको दृश्य : प्रधानमन्त्री प्रचण्डको प्रशंसा, अध्यक्ष प्रचण्डको आलोचना

धेरै समयपछि खुलेर बहस, छोरीलाई स्वकीय र ज्वाइँलाई मन्त्री बनाएकोमा कटाक्ष
साउन १८, २०८०
काठमाडौं
माओवादी बैठकको दृश्य : प्रधानमन्त्री प्रचण्डको प्रशंसा, अध्यक्ष प्रचण्डको आलोचना

साढे सात सय जना बढी सहभागी रहेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा यसपटक सदस्यहरूले खुलेर नेतृत्वको आलोचना गरेका छन् ।

यसअघिका बैठकमा पार्टी नेतृत्व र काम गराइप्रति खुलेर विरोध गर्ने अभ्यास थिएन । यसपटक थोरै समय पाउँदा पनि निर्धक्क भएर पार्टी, संगठन, सरकार र भावी चुनौतीका विषयमा सदस्यरूले कुरा राखेका हुन् ।

बुधवारबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरू भएको बैठकमा लगातार दुई दिनदेखि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौखिक रूपमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेपछि सदस्यहरूले धारणा राख्न थालेका थिए । अध्यक्ष प्रचण्डले नै ‘माओवादी पार्टी पार्टीजस्तो भएन’ भन्ने टिप्पणी गरेपछि माओवादीका केन्द्रीय सदस्यलाई खुलेर मत राख्ने परिस्थिति बनेको हो । 

अध्यक्ष प्रचण्डले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा चालेको कदमप्रति अधिकांश सदस्यले प्रशंसा गरेका छन् । तर, पार्टी नेतृत्वमा रहेर अध्यक्षले गरेका कमजोरीप्रति भने सदस्यहरूले आलोचना गरेका छन् । 

बिहीवार पनि सदस्यहरूले अध्यक्षको मौखिक प्रतिवेदनकै आधारमा आफ्नो कुरा राखेका थिए । माओवादीले पदाधिकारीदेखि सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि समान ५/५ मिनेट समय दिएको छ । 

यस समयलाई मध्यनजर गर्दै केन्द्रीय सदस्यले निर्धक्क कुरा राखिरहेको माओवादी नेता माधव सापकोटा बताउँछन् । 

‘बोल्नका लागि पार्टीले सबैलाई ५ मिनेटको समय दिएको छ । यसपटक माओवादीको बैठक भिन्न देखिएको छ । निर्धक्क भएर पार्टी नेतृत्वका गल्ती र कमजोरीबारे सदस्यले धारणा राखिरहनुभएको छ,’ सांसद समेत रहेका केन्द्रीय सदस्य माधव सापकोटाले भने ।

‘बोल्नका लागि पार्टीले सबैलाई ५ मिनेटको समय दिएको छ । तर, यसपटक माओवादीको बैठक भिन्न देखिएको छ । निर्धक्क भएर पार्टी नेतृत्वका गल्ती र कमजोरीबारे सदस्यले धारणा राखिरहनुभएको छ,’ उनले भने, ‘नेतृत्वले राम्रो गरेकोमा राम्रै रेस्पोन्स पाएको छ । नराम्रो गरेको ठाउँमा उस्तै गरी आलोचना पनि खेपेको छ । एउटा जीवन्त पार्टीमा यसरी बहस हुँदा सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विश्वास छ ।’

पार्टीका टीके प्रथा हुर्कँदा पद पाउने र नपाउने दुवै असन्तुष्ट बन्नुपरेको भन्दै उनले पार्टीमा निर्वाचनबाटै नेतृत्व चुनिनुपर्ने बताए । 

‘मनोनीत भएर पद खाएका र पद नपाएका दुवै पक्ष असन्तुष्ट छन् । जनता कार्यकर्ताप्रति उत्तरदायी हुन पनि निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ भनेर सदस्यहरूले खुलेर कुरा राख्नुभएको छ,’ सापकोटा भन्छन्, ‘यसैले मनोनीत गर्ने र सबैमा सहमति गर्नुभन्दा पार्टीका हरेक संयन्त्रलाई निर्वाचनबाट पूर्ति गरिनुपर्छ ।’

नेता रामनारायण बिडारीले टाठाबाठाले मात्रै राजनीति गर्ने क्रमको अन्त्यका लागि पनि पार्टीमा तल्लो तहदेखि नै निर्वाचित भएर आउने प्रबन्ध गर्नुपर्ने बताए । जनताबाट अनुमोदित हुनुपर्ने भएपछि नेता कार्यकर्ता तहमा जान बाध्य हुने उनको भनाइ छ । 

null

केन्द्रीय सदस्य हितबहादुर तामाङले पैसाकै भरमा टिकट पाउने र टिक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए । 

अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पार्टीमा निर्धक्क भएर संगठन र नेतृत्वको कमजोरीबारे सदस्यले धारणा राखिरहेको बताए ।

‘यसपटक माओवादीले ठ्याक्कै माओवादी जसरी बैठक गरिरहेको छ । संगठन, नीति र नेतृत्वका विषयमा सदस्यहरूले साँच्चै खुलस्त भएर निर्धक्कसँग मत राखिरहनुभएको छ,’ लम्सालले भने, ‘पार्टीले पनि यसपटक निर्धक्क भएर आफ्ना कुरा राख्ने मौका दिएको छ । यसले पार्टीमा नेताप्रति भएका तुष र समस्यालाई केही हदसम्म साम्य पार्छ ।’

थोरै समयको सदुपयोग गर्दै नेताहरूले पार्टी अध्यक्ष प्रचण्डको पनि आलोचना गर्न छाडेका छैनन् । पार्टीमा चरम परिवारवाद हावी भएको भनेर नेताहरूले सचेत गराएका छन् ।

केन्द्रदेखि प्रदेशसम्म अध्यक्ष प्रचण्डको परिवारवाद हावी भएकोमा सदस्यहरूले निर्धक्क भएर बोलेको एक नेता बताउँछन् । ‘अध्यक्ष प्रचण्डका ज्वाइँ, छोरी र निकटकाले धेरै अवसर पाएकोबारे बोल्ने थुप्रै छन् । कोही-कोहीले नाम उल्लेख गरेका छन्, नाम उल्लेख नगरिकन धेरैले पार्टीमा चरम परिवारवाद हावी भएको विषयलाई प्राथमिकता दिनुभएको छ’ ती नेता भन्छन्, ‘केन्द्रदेखि तल्लो तहसम्म नजिकका आसेपासे होइन सक्षम र दक्ष व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ भन्ने धेरैको मत छ ।’

केन्द्रीय सदस्य शिव यादवले पार्टीको केन्द्रीय कार्यालयलाई सम्पर्क कार्यालयजस्तो नबनाउन आग्रह गरे । ‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय सम्पर्क कार्यालयजस्तो खुमलटार केन्द्रीय कार्यालयजस्तो भएको छ,’ उनले भने, ‘पार्टीलाई जीवन्त बनाउन पनि नेताको निवासलाई कार्यालयजस्तो बनाउन हुँदैन । नेताले आफन्तलाई स्वकीय सचिव राख्न पनि बन्द गर्नुपर्छ ।’

निरन्तर कमजोर हुनुको समीक्षा 

बैठकमा माओवादी नेता लेखनाथ न्यौपानेले पार्टी निरन्तर कमजोर हुनुको समीक्षा हुनुपर्ने बताए । ‘हामी आदर्शमा पार्टीलाई सुदृढ गर्ने, सिद्धान्त, विचार र संगठनलाई पनि प्रभावकारी बनाएर लाने भन्छौं, तर यिनमा पर्याप्त तालमेल मिलिरहेको छैन,’ न्यौपानेले बैठकमा भने, ‘हाम्रो पार्टीका चरित्र बिग्रँदै गएको छ । यसैगरी गैह्र-सर्वहारा चरित्र विकास हुँदै गए अरूले सकाउनु पर्दैन माओवादी आफैं सकिन्छ ।’

केन्द्रीय सदस्य रञ्जित तामाङले माओवादी निरन्तर कमजोर बन्दै आएको भन्दै राम्रो गर्न सक्छौं भन्ने सन्देश केन्द्रीय कमिटी बैठकबाट दिनुपर्ने बताए । 

‘दुईवटा निर्वाचनमा हामी झन् कमजोर बन्दै आइरहेका छौं । यस्तै भइरहने हो भने हामी झन् कमजोर हुँदै जान्छौं,’ बैठकमा भइरहेको बहसबारे जानकारी दिँदै तामाङले भने, ‘यसलै माओवादी सशक्त र प्रभावकारी बन्नुको विकल्प छैन । हामीले यतिखेर सुशासनको पक्षमा आशा जगाउन खोजेका छौं । यसलाई कायम राखेर अझै राम्रो गर्नुपर्छ भन्ने सन्देश आएका छन् ।’

विधान सम्मेलन होइन, विशेष महाधिवेशन 

पार्टीले मंसिरमा विधान सम्मेलन गर्ने गरी राजनीतिक संगठनात्मक प्रतिवेदन पेश गरे पनि माओवादीमा विशेष महाधिवेशनको माग धेरै भएको एक नेता बताउँछन् ।

‘अघिल्लो महाधिवेशनले निर्देश गरेका विषय नै कार्यान्वयन भएका छैनन् । त्यसैले अब फेरि विधान सम्मेलनतिर अल्झिनु हुँदैन,’ ती नेताले भने, ‘कम्तीमा पार्टीमा टीके प्रथा अन्त्य गरी नेतृत्व चयन गर्न सकियो भने पार्टी पार्टीजस्तो हुन्छ ।’ 

null

महाधिवेशनपछि पार्टीका संयन्त्रलाई प्रभावकारी परिचालन गर्न नसकेको माओवादीमा विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गर्नुपर्ने माग बढेको हो । बैठकमा स्थायी कमिटी सदस्य जयपुरी घर्तीले नै विशेष महाधिवेशन माग गरेकी छन् । 

बैठकमा प्रचण्डनिकटले विधान सम्मेलन भनिरहँदा अन्य पक्षले भने विशेष महाधिवेशनको माग गरिरहेका छन् । उनले केन्द्रीय सदस्यको संख्या जम्बो हुँदा नकारात्मक सन्देश गएको भन्दै छरितो र कामकाजी केन्द्रीय नेतृत्व बनाउनुपर्ने बताइन् । ५ सयजना बढीको होइन, छरितो र कामकाजी केन्द्रीय कमिटी आवश्यक भएकोमा धेरै सदस्यले जोड दिएका छन् । 

प्रभावशाली कसले के भने ? 

बिहीवारको बैठकमा माओवादीका मुख्य नेतामध्ये वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोले । भ्रष्टाचारविरुद्ध सरकार निर्मम भएर लाग्दा पब्लिक र मिडियाबाट प्रभावकारी हौसला प्राप्त भए पनि माओवादीभित्रैबाट हुनुपर्ने जति प्रचार नभएको बताए । 

‘राष्ट्र र नागरिकको हितका लागि सरकारले भ्रष्टाचारविरुद्ध प्रभावकारी अभियान छेडेको छ । यो अभियानमा पब्लिकदेखि मिडियासम्मले हाम्रो प्रशंसा गरेका छन्,’ श्रेष्ठले भने, ‘तर पार्टी भित्रैबाट जति प्रचार र सहयोग हुनुपर्ने हो, त्यो भने हुन सकेन ।’ 

'बहस एकदमै खुला छ । पार्टी बनाउने कुरामा केन्द्रित भएर विषयहरू आएका छन् । सरकारले गरेको काम ठीक छ, यसले पार्टीलाई गौरव महसूस भन्ने धारणा धेरैले राख्नुभएको छ । पार्टीमा परिवारवाद हावी भयो भन्ने कुरा पनि उठेको छ,' केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरसँग भने ।

श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानलाई सरकारले मूलमन्त्र बनाएको भन्दै अझै निर्मम हुने पनि बताए । ‘हामी भ्रष्टाचारविरुद्धको अभियानमा छौं । यसक्रममा पार्टीभित्र र बाहिरका जो भए पनि छाड्दैनौं,’ श्रेष्ठले भने । 

बैठकमा बोल्ने अधिकांश सदस्यले यतिखेरको सबाल नै सुशासन भएकोमा जोड दिइरहेको केन्द्रीय सदस्य रामबहादुर भण्डारी बताउँछन् । 

‘माओवादी नेतृत्वको सरकारले यसपटक सुशासनको पक्षमा प्रभावकारी काम गरिरहेको छ । यतिखेरको सबाल नै सुशासन कायम गराउनु हो भन्ने धेरैको मत छ,’ भण्डारीले भने, ‘सुशासनका सबालमा पार्टीभित्रैका नेता छन् भने पनि कसैलाई छाड्नुहुँदैन भन्ने मत धेरैको छ ।’

अर्का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी अध्यक्ष प्रचण्ड डाइनामिक भएको बताए ।

‘अहिले मात्रै होइन, सिंगो पार्टीलाई अध्यक्ष प्रचण्डले डाइनामिक कमान्ड दिँदै आउनुभएकोमा दुईमत छैन,’ महराले भने, ‘फेरि पनि अध्यक्ष प्रचण्डकै प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ ।’ 

आफूमाथि सुनकाण्डमा उठेको प्रश्नमा भने महराले बैठकमा बोल्न उचित ठानेनन् । बुधवार १८ जनाले मात्रै बोलेकोमा बिहीवारसम्म ७४ जनाले बोलेको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।

'बहस एकदमै खुला छ । पार्टी बनाउने कुरामा केन्द्रित भएर विषयहरू आएका छन् । सरकारले गरेको काम ठीक छ, यसले पार्टीलाई गौरव महसूस भन्ने धारणा धेरैले राख्नुभएको छ । पार्टीमा परिवारवाद हावी भयो भन्ने कुरा पनि उठेको छ,' शर्माले लोकान्तरसँग भने ।

बैठक शुक्रबार पनि जारी रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्